धनकुटा, जेठ ७ : धनकुटाका थप पाँच जना गरी ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।जिल्ला अस्पताल धनकुटामा कार्यरत एक महिला स्वास्थ्यकर्मीमा नोवल कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएलगतै उहाँको सम्पर्कमा रहेका ८३ जनाको स्वाब परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो ।
धनकुटाबाट लगिएको ८३ जनाको स्वाबमध्ये ६७ जनाको स्वाब परीक्षण गर्दा पाँचजनामा कोरोना पोजेटिभ रहेको पुष्टि भएको छ । बाँकी १६ जनाको रिर्पोट आउने क्रममा रहेको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षीया स्टाफ नर्सलाई आइतबार मात्रै कोरोना लागेको पुष्टि भएको थियो ।
नर्सलाई कोरोना पुष्टि भएलगत्तै धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मङ्गलबार साँझ गरिएको परीक्षणमा ५ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको हो । पुष्टि भएकामध्ये एक जना प्रहरी, एक जना नर्स संखुवासभा घर भएका, नर्सका पति, दुईजना स्वास्थ्यकर्मी तांखुवा र ७ नम्बर वडानिवासी गरी हालसम्म धनकुटामा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
२४ वर्षका महिला स्वास्थ्यकर्मी, २८ र २९ वर्षका पुरुष स्वास्थ्यकर्मी गरी तीनजना स्वास्थ्य कर्मी र ३५ वर्षका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीका ३७ वर्षीय श्रीमान् गरी थप पाँचजनामा कोरोना पोजेटिभ देखिएकाले उहाँहरूलाई विराटनगरस्थित कोसी अस्पताल कोभिड – १९ उपचार केन्द्र कोरोना विशेष अस्पतालको आईसोलेसनमा राख्न लाने तयारी गरिएको छ ।
सङ्क्रमित स्वास्थ्यकर्मीबाट अरुमा पनि सङ्क्रमण फैलिएको हुनसक्ने आशङ्कामा अस्पतालमा उपचारत सात जना बिरामी, तीन जना कुरुवा र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा उनीहरूको परिवारका सदस्यको स्वाब परीक्षणका लागि घोपा क्याम धरान पठाइएको मध्ये ६७ जनाको परीक्षण गर्दा पाँचजनामा कोरोना पोजेटिभ देखिएको धनकुटा अस्पतालका मेडिकल सुपरिटेन्डेड डा. पूजन विश्वकर्माले जानकारी दिनुभयो ।
आइतबार स्टाफ नर्समा कोरोना भेटिएपछि आइतबारदेखि नै धनकुटा अस्पताललाई चारकिल्ला निर्धारण गरेर सिल गरिएको थियो । अहिले जिल्लाभर नै सिल गरिएकाले आवातजावत बन्द गरिएको छ ।