बारा, जेठ ४ : जिल्ला प्रहरी कार्यालय, बारा कलैयाको मुद्दा फाँटमा कार्यरत एकजना प्रहरी जवानमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि एक प्रहरी निरीक्षकसहित २५ जना प्रहरीलाई क्वारेन्टीनमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका प्रहरी निरीक्षकसहित सङ्क्रमित प्रहरी जवानको सम्पर्कमा आएका २५ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय नजिकै रहेको बाल मन्दिरको प्रहरी क्वारेन्टीनमा राखिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
सङ्क्रमित प्रहरी जवानको सम्पर्कमा आएका २५ जना प्रहरीसँगै जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखाका तीन र जिल्ला सरकारी वकिल कार्यालयका तीनजना सहित ३१ जनाको स्वाब पीसीआर परीक्षणका लागी कलैया अस्पतालमा सङ्कलन गराइएको प्रहरी नायव उपरीक्षक मिश्रले बताउनुभयो ।
सङ्क्रमित प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयमै आइसोलेसनमा राखिएको छ । सङ्क्रमित प्रहरी जवान गएको वैशाख २९ गते रौतहटमा रहेको घर गएर ३० गते जिल्ला प्रहरी कार्यालय बारामा फिर्ता आएका थिए ।
प्रहरी जवानमा कोरोनाको पुष्टि भएसँगै जिल्ला प्रहरी कार्यालयमा अति आवश्यक कामबाहेक अन्य सेवाग्राहीलाई जिल्ला प्रहरी कार्यालय प्रवेशमा रोक लगाइएको छ । प्रहरी कार्यालयमा नआइ नहुने कामबाहेक अन्यलाई प्रवेश गर्न आइतबारदेखि पूर्णरुपमा निषेध गरिएको प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिनुभयो ।
सडकमा आठ हजार रुपियाँ भेटियो
बारा जिल्लाको आदर्शकोतवाल वार्ड नम्बर–८ मा आइतबार बिहान आठ हजार नेपाली रुपियाँ सडकमा भेटिएको छ । पाँच सयको १६ वटा नोट रहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
सडकमा रुपियाँ देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेपछि प्रहरी घटनास्थलमा गएर रुपियाँलाई स्यानिटाइज गरी प्लास्टिकमा राखेर जिल्ला प्रहरी कार्यालय, कलैयामा ल्याइएको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनुभयो ।
कसैको रकम सडकमा खसेको हुनसक्ने अनुमान गरेको र यसबारे थप अनुसन्धान भइरहेको मिश्रले बताउनुभयो ।