काठमाडौं, जेठ २ : बेलायतले जुन महिनादेखि व्यवसायिक फुटबल सञ्चालनको ढोका खोल्न लागेको जनाएको छ । बेलायतमा प्रिमियर लिगको बाँकी रहेका खेल जुन १२ देखि सुरु गर्ने तयारी गरिएको छ ।
बेलायतका संस्कृति सचिब ओलिभर डौडेनले बिहिबार फुटबल संघ, प्रिमियर लिग र इंग्लीश लिगसँगको बैठकमा फुटबल सञ्चालन गर्ने योजनाको तयारीबारे छलफल गरिएको बताउनुभएको छ । प्रत्यक्ष प्रसारणको अधिकत्तम दर्शकको पहुँच बढाउन प्रशस्त व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।
डौडेनले खेलाडी, प्रशिक्षक र कर्मचारीको स्वास्थ्यप्रति उच्च सतर्कता राखेर फुटबल सञ्चालन गरिने प्रष्ट्याउनुभयो । त्यसका लागि सरकारसँगै हाम्रो स्वास्थ्य विज्ञहरुले निर्देशिका तयार गर्ने क्रममा रहेको उहाँले बताउनुभयो ।
सोमबार प्रिमियर लिगको अर्को बैठक डाकिएको छ । बैठकबाट विदेशी खेलाडीको आगमनको व्यवस्थापन, सामाजिक दूरी बनाएर सामूहिक प्रशिक्षणको मार्गचित्र तयार गर्नेछ । गत् मार्च १३ मा कोभिड–१९ को सङ्क्रमणको जोखिमका बीच बाँकी रहेको खेलहरु स्थगित गरिएको थियो । प्रिमियर लिगका अधिकांश टोलीले नौ खेल खेल्न बाँकी छ ।
प्रिमियर लिगले खेलाडीहरुको अनुबन्धन समेत थपिसकेको छ । उक्त मिति जुन ३० सम्म कायम गरिएको छ ।