सिरहा, जेठ ३ : सिराहाको पहिलो संक्रमित सखुवानानकरकट्टी–१ मौवाहीका मलेशियाबाट फर्केका ३० वर्षीय युवक रहेको बताइएको छ । गत फागुन २८ गते मलेशियाबाट फर्केका ती युवक यस अघि पनि संक्रमित भई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरी निको भई फर्केका हुन् ।
सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले मलेशियाबाट फर्केर उदयपुरको गाइघाटमा सैलुन खोलिबसेका ती युवकलाई त्यहीबाट कोरोना संक्रमण भएपछि उपचारार्थ धरान लगिएको थियो । धरानबाट निको भई ती युवक पुनः आफ्नो गाउँ सिराहाको सखुवानानकरकट्टी–१ स्थित मौवाही आइबसेका थिए ।
ती युवकबाट गत वैशाख २९ गते पुनः परिक्षणका लागि सिराहाको पुर्वी दक्षिणको भगवानपुर गाउँपालिकाको स्वास्थ्य केन्द्रमा घाँटीको स्वाब लिइएको थियो । संक्रमित युवकसँगसँगै १६० जनाको घाँटीको स्वाब लिइएको थियो । त्यसमध्ये अहिलेसम्म १८ जनाको मात्र स्वाब परिक्षणको परिणाम आएको प्रजिअ गुरागाईले जानकारी दिनुभयो । स्वाब परिक्षणको परिणाम आएका अन्य १७ जनाको परिणाम नेगेटिभ आएको बताइएको छ ।
सुरुमा शनिवार विहानै स्वास्थ्य मन्त्रालयको बुलेटिनमा ती युवकलाई सिरहा सखुवा–१९ का ३० वर्षीय पुरुष भनिएको थियो । जसले यहाँका जनप्रतिनिधिदेखि प्रहरी सबैलाई अल्मलाएको थियो । सिरहामा न कतै सखुवा–१९ छ न त सखुवानानकरकट्टी गाउँपालिकामै १९ नम्बरको वडा छ । सखुवानानकरकट्टी गाउँपालिकामा जम्मा पाँच वटा वडा मात्रै छ ।