काठमाडौँ, जेठ ३ : सरकारले आगामी तीन वर्षभित्रमा सबै नागरिकको स्वास्थ्य बीमा गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी तीन वर्षभित्रमा सबै नागरिकको स्वास्थ्य बीमा हुने जानकारी दिनुभयो ।
स्वास्थ्य बीमाअन्तर्गत ५५१ स्थानीय तहका २७ लाखभन्दा बढी नागरिकको स्वास्थ्य बीमा गरिएको छ । आगामी तीन वर्षभित्रमा सबै नागरिकमा पुग्नेगरी स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गरिने उहाँले बताउनुभयो । सो कार्यक्रममा आधारभूतबाहेकका स्वास्थ्य सेवा क्रमशः समावेश गर्दै लगिने छ ।
यसैगरी नीति तथा कार्यक्रममार्फत सरकारले शैक्षिक बेरोजगार युवालाई स्वरोजगार प्रोजेक्ट बेस फाइनान्सिङ गर्ने भएको छ । शिक्षित बेरोजगारलाई स्वरोजगार बनाई बेरोजगारी अन्त्य गर्न प्रोजेक्ट फाइनान्सिङको व्यवस्था मिलाइने भन्दै उहाँले जसले जे विषय अध्ययन गरेको हो, त्यससँग सम्बन्धित पेसा व्यवसाय वा उद्यम गर्न परियोजना धितोमै रकम उपलब्ध गराइने जानकारी दिनुभयो ।
यसैगरी स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिबी न्यूनीकरण गर्न सहकारी क्षेत्रको प्रवद्र्धन गरिने भएको छ । उद्देश्य र कार्य क्षेत्रको विश्लेषणका आधारमा सहकारी संस्थाहरूलाई एक आपसमा गाभिन प्रोत्साहन गरिने कुरा पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।