ठूला व्यापारीबाटै ठगिए उपभोक्ता

  जेठ ०२, २०७७

काठमाडौँ, जेठ २ : अतिआवश्यकीय वस्तुको आपूर्ति सहज भएको बेला पनि उपभोक्ता कृत्रिम महँगीको मारमा परेका छन । उजुरी आएपछि मात्रै बजारमा सरकारी अनुगमन तथा नियमनकारी निकाय पुग्ने अन्यथा नजाने गरेका कारणले व्यापारीले तोकिएको अधिकंतम खुद्रा मूल्यभन्दा बढी मूल्य लिएर खाद्यवस्तु खुलेआम विक्री गरिरहेका छन । यस्तै निजीस्तरबाट सञ्चालित अस्पतालले पनि सेवाग्राहीसँग मनपरी शुल्क लिने गरेका छन ।

उपभोक्ताको उजुरीका आधारमा मङ्गलबार सरकारी टोलीले काठमाडौँको ठमेलस्थित मनमोहन अस्पताल र मिनभवन फार्मेसीको क्लिनिकले सेवाग्राहीसँग मनलाग्दी शुल्य लिएको प्रमाणित भएपछि क्रमशः दुई लाख ५० हजार र दुई लाख रूपियाँ जरिवाना गरेको छ । उपभोक्ताको उजुरीका आधारमा अनुगमनका लागि पुगेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले दर्ता शुल्क एक हजार ७०० रूपियाँसम्म लिएको पाएपछि उक्त जरिवाना गरिएको हो ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बढी मूल्य लिने निजी अस्पताल फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन २०७५ मा गरिएको व्यवस्था अनुसार जरिवाना गरिएको जानकारी दिनुभयो । उहाँले पछिल्लो समयमा औषधि पसल र अस्पतालमा सेवाग्राही ठगिएको गुनासो धेरै आएपछि पछिल्लो पटक अस्पताल र फार्मेसी क्लिनिकको अनुगमन गर्न थालेको जानकारी दिनुभयो ।

उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले बजारमा सरकारी अनुगमनकारी निकायको उजुरी विना उपस्थिति हुन नसक्दा लकडाउनको अवसर छोपी निजी अस्पताल र औषधि पसलले उपभोक्तासँग मनपरी रूपमा शुल्क लिने गरेको आरोप लगाउनुभयो । साथै उहाँले साना खुद्रा पसलभन्दा ठूला डिपाटमेन्टले उपभोक्तालाई खुला रूपमा लुट्ने गरेको आरोप लगाउनुभयो ।
यता बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भने लकडाउनमा बेलामा दैनिक उपभोग्य सामान खरिदमा उपभोक्तामाथि हुन सक्ने ठगीलाई ध्यानमा राखेर अनुगमन तीब्र पारेको जनाएको छ ।

विभागका महानिर्देशक सुवेदीले अप्ठारो अवस्थामा बजारमा उपभोक्तामाथि पर्ने सक्ने ठगीका विषयमा केन्द्रित भएर अनुगमनलाई तीब्रता दिएको दाबी गर्नुभयो । विभागका अनुसार लकडाउनको अवधिमा १४८ वटा व्यापारिक फर्मको अनुगमन गरी जरिवाना गरेको छ भने दुई वटा व्यवसायी फर्म मुद्दा चलाउने प्रक्रियामा छन । यस अवधिमा अनुगमन गरिएको व्यापारिक फर्ममध्ये झण्डै आधालाई जरिवाना गरेर करिब ९० लाख रूपियाँ असुल भएको विभागले जनाएको छ ।

उहाँका अनुसार यस अवधिमा बढी जरिवाना तिर्ने विगमार्ट, भाटभटेनी सेलबेरी जस्ता ठूला व्यापारिक फर्म रहेका छन । ती व्यापारिक फर्मलाई दुई लाखदेखि तीन लाख रूपियाँ जरिवाना गरिएको छ । लकडाउनका अवधिमा खाद्यवस्तुमा मूल्य वृद्धि गरी बिक्री गरेकाले डेली ग्रोसरी प्रालिलाई दुई लाखका दरले जरिवाना गराइएको विभागले जनाएको गोरखापत्रमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया