सीमा अतिक्रमणको विरोधमा फिदिम बजारमा मशाल जुलुस

  जेठ ०१, २०७७

ताप्लेजुङ, जेठ १ : भारतले गरेको सीमा अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघले पाँचथर सदरमुकाम फिदिम बजारमा मशाल जुलुस निकालेको छ । विद्यार्थीहरुको समूहले बिहीबार साँझ मुख्य बजार क्षेत्रमा जुलस प्रदर्शन गरेका हुन् ।

जुलुसमा उनीहरुले पाँचथरको फालेलुङ र दार्चुलाको लिपुलेक, कालपानी र लिम्पियाधुरा क्षेत्रमा भारतले गरेको अतिक्रमणको बिरोधमा नारा लगाएका थिए । अकस्मात निस्किएको जुलुशलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले राँको खोसेर तितरबितर बनाएको थियो ।

भारतीय सुरक्षाकर्मीले नेपालको भूमिमा निर्माण भइरहेको पर्यटन स्मृति पार्क बनाउन अवरोध खडा गरेकोमा विद्यार्थी आन्दोलित भएका हुन् । उनीहरुले ‘फालेलुङको सीमाक्षेत्र हाम्रो हो’, ‘लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो’ भन्दै नारा लगाएका थिए ।

भारतीय सुरक्षाकर्मीले फालेलुङमा जंगे पिलरभन्दा एक सय मिटर वरको क्षेत्र पनि आफूहरुको भएको भन्दै अवरोध खडा गरेको हो । गाउँपालिकाले स्थानीय र प्रहरीलाई पार्क निर्माणस्थलमा लगेर भारतले भनेको क्षेत्र नेपालको भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

तपाईको प्रतिक्रिया