लकडाउनमा कडाइ : जिल्लाभित्र जारी गरिएका सवारी पास पनि खारेज

  जेठ ०१, २०७७

काठमाडौं, जेठ १ : जिल्लाकै एउटा स्थानबाट अर्काे स्थानमा जानसमेत नपाइने भएको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गृह मन्त्रालयले एउटा जिल्लाभित्र सवारी सञ्चालन गर्न पाउने गरी जारी गरेको सवारी पास रद्द गर्ने निर्णय गरेको हो ।

कुनै पनि व्यक्तिलाई अत्यावश्यक कामका लागि बाहिर निस्कनुपरेमा नजिकैका प्रहरीलाई सम्पर्क गर्न सकिने गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताउनुभयो । मन्त्रालयले आजबाट एउटा जिल्लाबाट अर्काे जिल्लामा प्रवेश गर्न रोक लगाएको छ ।

मन्त्रालयमा आज नै उपत्यकाका नगरपालिकाका प्रमुखहरुसँग अहिलेको अवस्थामा स्थानीय तहको भूमिकाका सम्बन्धमा छलफल गरिएको थियो । जेठ ३ गतेदेखि लागू हुने गरी सम्बन्धीत जिल्लाभित्र र बाहिर आवगमन गर्न दिइएका सवारी पास खारेज गरिएको सह-प्रवक्ता अधिकारीले बताउनुभयो ।

अबदेखि लिइने पासहरु गृह मन्त्रालयको अनुमतिमा मात्रै जारी गरिने अधिकारीले बताउनुभयो । प्रेसको हकमा सूचना विभागबाट जारी गरिएको पासबाट आवगमन दिइने उहाँले जानकारी दिनुभयो । मन्त्रालयले यसअघि जिल्ला बाहिरका लागि जारी गरिएका पासहरु यसअघि नै मन्त्रालयले खारेज गरिसकेको छ ।

तपाईको प्रतिक्रिया