बझाङ, वैशाख ३० : जिल्लाको सुर्मा गाउँपालिकाले यार्सा संकलनमा रोक लगाएपछि स्थानीय बासिन्दाहरु बर्षौ देखी बाँझो राखेका जमिनको खनेर अन्न तथा तरकारी लगाउन थालेका छन् ।
यो सिजनमा यार्सा टिप्न लेक तिर जाने यहाँका स्थानीयहरुले कोरोना भाईरसको जोखिमलाई मध्ये नजर गरि यार्सा टिप्न रोक लगाए पछि झण्डै दुई दशक देखी बाँझो राखिएका जमिनहरु खनजोत गरेर अन्नबालीका साथै तरकारी लगाउन थालेका हुन् ।
जिल्लाको हिमाली क्षेत्रमा यार्सा संकलन गर्न लागेको झण्डै दुई दशक भयो । यार्सा संकलनबाट मनग्य आम्दानी हुने भएपछि स्थानीयहरुले पाखो जमिनमा अन्न तथा तरकारी लगाउन छोडेका थिए । सुर्मा गाउँपालिकाका स्थानीय कलक बोहराले भन्नुभयो, यहाँका स्थानीयका जिबिकोपार्जको माध्याम भनेको यार्सा संकलन भएकाले यार्सा संकलन गर्न स्थानीय सरकारले रोक लगाएपछि स्थानीयहरुले पुरानो बाबु बाजेका दिनमा खेती लगाउन छोडेको जमिन खनजोत गर्न थालेका छन् ।
गाउँपालिकाका सबै वडाहरुका स्थानीय बासीहरु यतीखेर कृषी कार्यमा ब्यस्त भएका छन् । वैशाख महिनाको पहिलो साता देखि स्कुले बिद्यार्थी देखी बयबृद्धहरु सबै यार्सा टिप्न लेक तिर जाने गर्दथे । कृषी कार्यमा सबै स्थानीय ब्यस्त भएपछि अहिले गाउँ घर समेत सुनसान बनेका छन् । बाँझो जमिन खनजोत गरेर कसैले आलु, कोदो, सिमी तथा फलफुल रोप्ने योजनामा रहेका छन् ।
सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले भन्नुभयो, सरकारले लकडाउनको घोषणा गरेकाले गाउँपालिका भित्र पनि यार्सा संकलन गर्दा भिड भाड हुने भएकाले यार्सा संकलन कार्य बन्द गरिएको छ । उहाँले सरकारले लकडाउन खोलेको खण्डमा यार्सा संकलन कार्य समेत खुल्ला गरिने बताउनुभयो ।