काठमाडौँ, वैशाख २८ : भारतले नेपाली भूमि लिपुलेकमा बनाएको सडकबारे नेपालले जनाएको चासोमा जवाफ दिएको छ । उसले भारतीय भूमिमै सडक बनाएको दाबी गरेको छ ।
भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि नेपाल सरकारले आपत्ति जनाएको थियो ।
तर, भारतीय विदेश मन्त्रालयले यो सडक भारतीय क्षेत्रमा नै बनेको दाबी गरेको छ ।
भारतीय विदेश मन्त्रालयले शनिबार साँझ जारी गरेको वक्तव्य भनेको छ, ‘यो सडकले कैलाश मानसरोवर यात्राका तीर्थयात्रीहरुले प्रयोग गर्ने पहिलाकै बाटो पछ्याइएको छ ।’
नेपाल र भारतको सीमा विवाद समाधान गर्न संयन्त्र बनेको भन्दै उसले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएको छ ।
दुबै देश कोरोना महामारीपछि परराष्ट्र सचिवस्तरीय वार्ताको मिति तय गर्न प्रयासरत रहेको समेत भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन गरेको थियो । यसको नेपालमा विरोध भइरहेको अनलाइन खबरमा उल्लेख छ ।