काठमाडौँ, वैशाख २८ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुक यति बेला यस युगकै कठिन लडाइँमा रहेको बताउनुभएको छ । ब्रेनगेन सेन्टरले शनिबार ‘स्वास्थ्य अनुसन्धान, अवसर र चुनौती ः कोभिड–१९ र यसको भूमिका’ विषयमा आयोजना गरेको अनलाइन छलफल कार्यक्रममा उहाँले कोरोना भाइरसविरुद्ध यो लडाइँको असर दीर्घकालीन रूपमा पर्ने प्रस्ट्याउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो पुस्ताको सबैभन्दा कठिन महामारीविरुद्ध लडिरहेका छौँ । यस्तो लडाइँ जहाँ कुनै हतियार काम लाग्दैन, जसमा कुनै पनि देशको उच्च विकास र सम्पदा काम लाग्दैन । राजनीतिक घेराको पनि अर्थ छैन ।” यस छलफलले कोभिड नियन्त्रणका लागि नयाँ विचार दिएकाले त्यसलाई सरकारको नीतिसँग जोडेर लैजान सकिने उहाँले बताउनुभयो ।
उहाँले कोरोना विरुद्धको लडाइँ कति लामो हुने भन्नेबारेमा पूर्वानुमान गर्न नसकिने औँल्याउनुभयो । उहाँका अनुसार यसले पार्ने दूरगामी प्रभाव जटिल देखिँदैछ । दिगो विकासको लक्ष्यलाई गम्भीर रूपले धक्का दिने आकलन गर्दै गएको तीन वर्षदेखि छ प्रतिशतको आर्र्थिक वृद्धिदर यो वर्ष तीन प्रतिशतभन्दा कममा खुम्चिएको मन्त्री ज्ञवालीको धारणा छ । अझ विश्वव्यापी श्रम बजारमा धक्का पु¥याउनुका साथै सामाजिक प्रणालीमा समेत खलबल ल्याउने देखिएको उहाँले सुनाउनुभयो । कुल गार्हस्थ्य उत्पादनमा योगदान दिने २६ प्रतिशत रेमिट्यान्स र पर्यटनसँगै विकासको गतिमा धक्का पु¥याउने स्थिति छ ।
डायस्पोरिक अनुभवलाई स्वदेशको कार्यक्रम र नीतिमा समेत लिन सकोस् भन्ने कुरा ख्याल गर्नुपर्ने औँल्याउँदै उहाँले नेपालका उत्तम प्रतिभा संसारका विभिन्न मुलुक, विभिन संस्था, विश्वविद्यालयमा छरिएर रहे पनि नेपाल सरकारकै सम्पदा ठान्ने प्रस्ट्याउनुभयो । नेपालको विकासका लागि केही काम गर्न चाहन्छु, केही अध्ययन गर्न चाहन्छु, संरचनागत र नीतिगत अध्ययन गर्छु भन्नेलाई जोडिन उहाँले आग्रह गर्नुभयो । चुनौतीको समयमा स्वदेश फर्कन सके आफूलाई प्रमाणित गर्न सकिने भन्दै उहाँले हौस्याउनुभयो ।
अनुुभव फलदायी
छलफलमा मन्त्री ज्ञवालीसँगै स्वदेश र विदेशका डा. श्याम शर्मा, डा. रोशनलाल श्रेष्ठ, मोम विश्वकर्मा, डा. तारा सिग्देल, इन्दिरा तिवारी, डा. रेश्मा तुलाधर, डा. अजित कर्ण, डा. विशेष खनाल, डा. फणिन्द्र पन्तसहित नौजना विज्ञको सहभागिता थियो ।
विदेशमा रहेका नेपालीको ज्ञान, सीप र दक्षताको उपयोग नेपालको हितमा प्रयोग गर्ने उद्देश्यसहित यस शृङ्खलाको आयोजना गरिएको सेन्टरका संयोजक सन्तोष गौतमले बताउनुभयो । अमेरिकाको रिसर्च सेन्टरमा कार्यरत डा. रोशनलाल श्रेष्ठले सहजीकरण गर्नुभएको अन्तरक्रियामा नेपालमा कोरोना भाइरससम्बन्धी अध्ययनमूलक गतिविधिलाई बढाउनुपर्नेमा विज्ञहरूले जोड दिनुभयो ।
विज्ञ डा. कर्णले हाल कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारलाई सघाइरहनुभएको छ । अमेरिकाबाट नेपाल आएको करिब सात महिनामै उहाँले स्वास्थ्य सेवा विभाग अन्तर्गतको प्राविधिक समूूहमा काम थाल्नुभयो । अस्पतालमा आउने रोगीको विश्लेषण गर्दै कन्ट्याक्ट टे«सिङ गर्ने क्रममा विदेशको माइक्रो बायोलोजी ज्ञान प्रयोग गरिरहेको जानकारी उहाँले दिनुभयो । प्रविधिको प्रयोगबाट अझ ठूलो स्तरमा परीक्षण र ट्रेसिङ कम लागतमा गर्ने ज्ञान वितरणसँगै निर्देशिका बनाउने काममा उहाँ सक्रिय रहनुभएको छ ।
अर्का विज्ञ डा. खनाल पनि कोभिड नियन्त्रणको एक समूूहसँग आबद्ध हुनुहुन्छ । नेपालमा छरिएर रहेको कोरोना भाइरसको तथ्याङ्क कसरी एकीकृत गर्दै ट्रेसिङलाई प्रभावकारी बनाउने भन्नेबारे एकीकृत प्रणाली विकास गर्न सक्रिय रहेको जानकारी दिँदै उहाँले त्यस्तै भर्चुअल ल्याबको प्रयोगबाट विदेशको अनुभव नेपालको नियन्त्रणमा उपयोग गर्न सकिने उल्लेख गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयको माइक्रो बायोलोजी विभागमा अध्यापनसँगै डेङ्गु र ब्याक्टेरियाको अध्ययनमा संलग्न डा. तुलाधरले नेपालको स्वास्थ्य अनुसन्धानमा शैक्षिक संस्थाको भूमिका बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेदरल्यान्डको रक्तसञ्चार सेवाको नेसनल स्क्रिनिङ सेन्टरमा काम गरिरहनुभएका डा. पन्तले जनस्वास्थ्यमा सरोकार राख्ने सक्रिय रक्तदातालाई प्रयोग गरेर कोभिड–१९ को पूर्वतयारी र पछाडिका लागि काम गर्न सक्ने दाबी गर्नुभयो । रगतको प्रतिरोधी क्षमता अध्ययन गर्न सकेमा यसले उपचारका बेला र महामारीपछिको पुनस्र्थापनाका क्रममा राम्रो लाभ लिन सकिने बताउँदै उहाँले त्यसका लागि सरकारले इच्छाशक्ति बढाउनुपर्नेमा जोड दिनुभयो ।
कोरियामा स्वास्थ्य अनुसन्धानकर्ताका रूपमा कार्यरत डा. तिवारीले सहकार्यात्मक रूपमा काम गर्ने सहज वातावरण बनाउन नेपाल सरकारसँग आग्रह गर्नुभयो । अन्य विज्ञले पनि विदेशको अनुभवलाई नेपालको विकासमा लगाउन सकेजति प्रयास गर्ने उल्लेख गर्नुभयो । अनुसन्धानसँगै नियन्त्रण, लगानी र प्रतिरोध क्षमता बढाउन विदेशमा रहेका नेपाली विज्ञले सघाउन सक्ने उहाँले बताउनुभयो ।