४३४ सांसद तथा कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ

  बैशाख २६, २०७७

काठमाडौँ, वैशाख २६ : सङ्घीय संसद प्रतिनिधिसभा/राष्ट्रियसभा)का सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४३४ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो ।

ती मध्ये २१२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी हुनुहुन्थ्यो । उहाँहरु सबैको संसद् भवन नयाँ बानेश्वरमा स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको थियो ।

आजदेखि सङ्घीय संसद्को बजेट अधिवेशन शुरु हुँदैछ । कोरोनोको जोखिम हुन नदिन सांसद र कर्मचारीको अनिवार्य पिसिआर परीक्षण गरिएको थियो ।

महाशाखा निर्देशक डा पाण्डेका अनुसार बिहीबार परीक्षण नभएका सांसदको आज पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।

आज स्वाब दिने सांसदले बैठकमा भाग लिन नपाउने
त्यस्तै, शुक्रबार पनि सांसद र कर्मचारीहरूको स्वाब संकलन गरिएको थियो । आज स्वाब संकलन गरिएका सांसदहरूले संसद बैठकमा भाग लिन नपाउने सम्भावना रहेको छ ।

कोरोना परीक्षण गरेको रिपोर्ट नलिई संसद प्रदेश गर्न नपाईने निर्णय भएको र उनीहरूको कोरोना परीक्षण रिपोर्ट आजै आउने सम्भावना नरहेकाले उनीहरूले संसद बैठकमा भाग लिन नपाउने भएका हुन् ।

शुक्रबार प्रतिनिधिसभाका ५३ र राष्ट्रिय सभाका १० जना सदस्यको स्वाब संकलन गरिएको थियो । शुक्रबार सांसद र कर्मचारीको गरी २५१ जनाको स्वाब संकलन गरिएको थियो ।

बिहीबार र शुक्रबार गरी सांसद, कर्मचारी, सुरक्षाकर्मीको गरी ६ सय ९२ जनाको स्वाब संकलन गरिएको संसद सचिवालयले जनाएको छ । उनीहरूको परीक्षणको रिपोर्टबारे आधिकारिक रूपमा स्वास्थ्य, जनसंख्या तथा वातावरण मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिनेछ ।

दुवै सदनका गरी ५४ जना सांसदको भने कोरोना परीक्षणका लागि स्वाब संकलन हुन सकेन । उनीहरूले अब टेकु गएर स्वाब परीक्षण गराएपछि मात्रै संसद बैठकमा सहभागिता जनाउन पाउनेछन् ।

तपाईको प्रतिक्रिया