नेपालगञ्ज, वैशाख २४ : एकै टोलका २२ जनासहित २३ जना स्थानीयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालगञ्जमा निषेधाज्ञा जारी गरेर संक्रमितहरुको सम्पर्कमा रहेका दुईसय जनाको कन्ट्याक्ट ट्रेसिंग गर्ने कार्यसंगसंगै अहिले स्वाब संकलन पनि गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँँकेले जनाएको छ ।
वैशाख १९ गते भेटिएका पहिलो संक्रमितको सम्पर्कमा रहेका ९४ जनाको पहिचान गरेर परीक्षण गरिएपछि २२ जनामा थप कोरोना पुष्टि भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार मंगलबार अपरान्हबाटै पछि फेला परेका २२ जनाकै कन्ट्याक्ट ट्रेसिंग गर्ने कार्य शुरु गरिएकोमा अहिले पनि भैरहेको छ ।
सो क्रममा वडा नम्बर ८ को राजनको पान पसलदेखि रानी तलाउ सब्जीमण्डी, घसियारन टोल, महेन्द्र पुस्तकालय, पण्डन मोहल्लालगायतका स्थानबाट संक्रमितहरुको सम्पर्कमा आएकाको सूचि बनाउने र उनीहरुको स्वाब संकलन गर्ने दुबै कार्यसँगसँगै अगाडि बढाईएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले यसरी कन्ट्याक्ट ट्रेसिंग गर्दा मंगलबार बेलुका ५६ जना र बुधबार १४५ जना गरेर २०१ जनाको पहिचान गरेर उनीहरुको स्वाब संकलन समेत गरिएको बताउनुभयो । अन्यको पहिचान गर्ने कार्य समेत जारी रहेको छ ।
संक्रमितहरुको स्वास्थ्य सामान्य
खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएका नेपालगञ्जका २३ जना सबै कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
उनीहरुलाई वार्डमा चिकित्सकको निगरानीमा राखिए पनि कुनै स्वास्थ्य समस्या नभएकाले विहान, बेलुका ज्वरो तथा रक्तचाप नाप्ने लगायतका कामहरु मात्र गरिएको र कुनै पनि औषधी नदिईएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनुभयो ।
उहाँले लक्षण नदेखिएर पनि धेरैजनामा कोरोना संक्रमण हुनसक्ने हुँदा अधिकांश संक्रमितले आफू संक्रमित नभएको ठाने पनि उनीहरु संक्रमित नै रहेको बताउनुभयो ।
विश्व स्वास्थ्य संगठन र मन्त्रालयको टोलीले अनुसन्धान गर्दै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको उच्चस्तरीय टोलीले अहिले नेपालगञ्जमा कोरोना कसरी भित्रिएको हो भन्ने बारेमा सुक्ष्म तरिकाले अनुसन्धान गर्नुका साथै जिल्ला स्वास्थ्य कार्यालयलाई स्वाब संकलन र कन्ट्याक्ट ट्रेसिंगमा सघाईरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निर्देशक डा. यदुचन्द घिमिरे र डा. प्रकाश बुढाथोकीसहितको टोलीले विश्व स्वास्थ्य संगठनको टोलीसँग सहकार्य गरेर कोरोना विरुद्धको अभियानलाई तीब्र पारेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठले बताउनुभयो । ती दुबै टोलीको प्रत्यक्ष निगरानीमा कन्ट्याक्ट ट्रेसिंग र स्वाब संकलन भैरहेको उहाँले जानकारी दिनुभयो ।
परीक्षणमा सन्देह नगर्न आग्रह
नेपालगञ्जमा रहेको कोरोना परीक्षण प्रयोगशालालाई सबै प्रकारले भेरीफाई गरेर नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरिफिकेसन सेन्टरको मान्यता दिएकाले यहाँबाट हुने पीसीआर टेस्टमा कुनै प्रकारको सन्देह नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
अस्पतालले आफ्नो फेसबुक वालमार्फत् गराईएको जानकारीमा, ‘गुणस्तरीयताका लागि केही स्याम्पललाई रिफरेन्स ल्याबमा पठाउने कार्यमा अस्पताल सजग र सचेत’ रहेको उल्लेख गरिएको छ ।
पहिलो संक्रमितका परिवारका सबैको रिपोर्ट नेगेटिभ
यसैबीच, पहिलोपटक कोरोना भाइरस पोजेटिभ भेटिएका नेपालगञ्ज–७ का ६० वर्षीय पुरुषको घरपरिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पहिलो पटक संक्रमण पुष्टि भएका संक्रमितलाई पछ्याउँदै परिवारका सदस्यहरुको स्वाब संकलन गरिएकोमा परिवारका सबै सदस्यको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
पहिलो संक्रमितका श्रीमती, बुहारीसहित चार दाजुभाइको रिपोर्ट नेगेटिभ आएको छ । परिवारको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएकाले टोलबासीले फूलमाला लगाएर स्वागत गरेका थिए । संक्रमितका परिवारका सदस्यहरुलाई सबै टोलवासीले फुलमाला छर्केर ताली बजाउँदै भव्य स्वागत गरेको उनका छिमेकी सुफियान फारुकीले बताउनुभयो ।
गत शुक्रबार ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएपछि उनको परिवारलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइमा राखिएको थियो । स्वास्थ्य कार्यालयका अनुसार दुई टोलका आठ घरका २३ जनामा कोरोना संक्रमण भेटिएको छ । पहिलो संक्रमितबाटै कोरोना फैलिएको हो वा अरु संक्रमित पहिलो थियो भन्ने बारे थप अनुसन्धान गर्नुपर्ने देखिएको सो कार्यालयले जनाएको छ ।