विश्व हाँसो दिवस : हाँसेर नै राेगलाई जितिन्छ, विश्व शान्ति र मित्रता बढ्छ

  बैशाख २१, २०७७

काठमाडौं, वैशाख २१ : ‘हाँस्न नभुलाैं है, दिल खोलेर हाँसौ र हँसाउन पनि सिकौं’ भन्ने नारामा मे महिनाको पहिलो आइतबार विश्व हाँसो दिवस घरघरमा नै बसेर मनाइएको छ । विश्वको महामारीको रुपमा फैलिएको कोरोना संक्रमणले संसारलाई नै रुवाइरहेको छ तर आफू र अरुलाई सुरक्षित राख्न हाँस्नुपर्ने बताउँनुहुन्छ, वरिष्ठ हाँस्य कलाकार हरिवंश आर्चाय ।

हाँसेर नै यो युद्ध जित्न सकिन्छ, देश पुरै बन्दाबन्दी छ यो हाम्रो सुरक्षाको लागि नै हो त्यसैले सरकार र जनताको कामको सम्मानको लागि पनि हामीले हाँस्नुपर्छ र दैनिक हाँसो दिवस मनाउनुपर्छ ।आचार्य भन्नुहुन्छ, ‘हाँस्ने र हँसाउनमै छ, खुसी’ । आफू हाँस्य कलाकार भएको नाताले यो महामारीको समयमा आत्मबल बढाउन भए पनि दर्शकलाई हँसाउने प्रवयास गर्ने हो । अरुलाई हँसाउनलाई आफू पनि हाँस्नुपर्ने मान्यता भएको कारण विहान आधा घण्टा हाँस्छ र यो ग गर्छु जसले मेरो दिमागलाई सधै स्वस्थ्य बनाउँछ उहाँले भन्नुभयो ।

यता वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ भन्नुहुन्छ, हाँसोको यो समीकरणमा उदाहारण सदैव आउँदछ कमलको फुलको अनि गुलाफको फुलको । चाहे हिलोमा होस् या काँडाभित्र ? तर फुल त मुस्कुराउँछ नै, हाँस्छ नै । त्यसैले यो कोरोनाको महामारीलाई हाँसेर नै जित्नुपर्छ । उहाँले थप्नुभयो, जति हाँस्न सक्यो रोग प्रतिरोधात्मक शक्ति बढ्छ । त्यसैले पनि होला म हाँसेरै रोग सँग लडिरहेको छु ।

हाँसोमा आधारित योगा अभियान ‘वल्र्डवाइड लाफ्टर योगा मुभमेन्ट’ चलाइरहेका मुम्बईका चिकित्सक डा. मदन कटारियाको पहलमा सन् १९९८ देखि विश्व हाँसो दिवस सुरु गरिएको हो । यो दिवस हरेक वर्षको मे महिनाको पहिलो आइतबार मनाईन्छ । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन यो दिवस मनाउन सुरु गरिएको योगगुरु सागरमान श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँनुको साथै प्रतिरोधी क्षमतामा वृद्धि गर्ने जानकारी दिनुभयो । यस्तै डा.हेमकुमारी आचार्यले तनाव जति हुन्छ, उति नै शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुने भएकाले जति सक्छौ उती हाँस्न र हँसाउन सुझाव दिनुहुन्छ ।

उहाँले हाँसोले तनावका हार्मोनलाई घटाई प्रतिरोधी कोष र संक्रमणविरुद्ध लड्ने एन्टीबडी वृद्धि गर्नुको साथै रोगसँग लड्ने क्षमतामा वृद्धि गर्ने तथा वृद्धवृद्धामा अल्जाइमर रोग पनि लाग्न नदिन पनि मदत गर्ने जानकारी दिनुभयो ।

डा.आचार्य थप्नुहुन्छ, अहिले देश पुरै बन्दाबन्दीको अवस्थामा छ त्यसैले त झन हाँस्नु जरुरी छ यसले सम्पूर्ण शरीरलाई आराम दिन्छ, हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै मांसपेशीलाई ४५ मिनेटसम्म आराम दिलाउँछ ।

हाँसोले रक्तनलीको कार्यमा सुधार गर्नुको साथै रक्त सन्चारमा वृद्धि हुन्छ । यस्तो अवस्थामा हृदयाघात हुने र मुटुका अन्य प्रकारका रोग लाग्ने सम्भावना कम हुने प्रष्ट पार्दे दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले ४० क्यालोरीसम्म घटाउन सकिन्छ । यसको अर्थ वर्षभरि निरन्तरता दिने हो भने तीनदेखि ४ पाउण्डसम्म तौल घट्ने जानकारी दिनुभयो ।

मानसिक रोग विशेषज्ञ डा तृष्णा घोषले हाँस्दा मष्तिष्कका कोशिकाबाट निस्कने इण्डोर्फिन नामक रसायनले मूड ठीक गर्न मदत गर्ने जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, मूड ठीक हुनुको अर्थ हो, जीवनका सबै कुरा राम्रो हिसाबले चल्नु हो । मूड ठीक हुँदा मानिसको व्यक्तिगत जीवन, सामाजिक जीवन व्यवसायिक जीवन सबैमा सकारात्मक प्रभाव पर्छ । यस्तै, हाँस्ने बानीले विना तनाव कुनै पनि प्रकारका अप्ठेरासँग जुध्ने क्षमतामा वृद्धि गर्छ ।

मानिसको मष्तिष्कका लागि हर समय धेरै नै अक्सिजन आवश्यक हुने हुनाले हाँस्ने बानीले मष्तिष्कमात्र नभई शरीरका सम्पूर्ण अंगमा अक्सिजन आपूर्ति गर्छ । यसले वौद्धिक स्तरका साथै शारीरिक दक्षता पनि बढाउँने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया