चीनको गान्सु प्रान्त सरकारले वाग्मती र प्रदेश ५ लाई स्वास्थ्य सामग्री प्रदान

  बैशाख १९, २०७७

काठमाडौं, वैशाख १९ : विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसका विरुद्ध लड्न चीनको गान्सु प्रान्त सरकारले नेपालको वाग्मती प्रदेश र प्रदेश नं ५ लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित मन्त्री भट्टराईको रोहवरमा गान्सु प्रान्त सरकारका प्रतिनिधि होङहोङले प्रदान गर्नुभएको स्वास्थ्य सामग्री मन्त्रालयका सचिव केदारबाबु अधिकारीलाई २० हजार थान सर्जिकल मास्क र एक हजार थान पिपिई हस्तान्तरण गर्नुभएको हो ।

मन्त्री भट्टराईले कोरोनाविरुद्धकोे लडाइँ जित्नका लागि प्राप्त स्वास्थ्य सामग्रीले ठूलो मद्दत पुग्ने बताउनुभयो । “यो खालको सहयोगले नेपाल–चीनबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै दुई देशका जनताबीचको सम्बन्धलाई पनि प्रगाढ बनाउन्छ”, मन्त्री भट्टराईले भन्नुभयो ।

मन्त्रालयका सचिव अधिकारीले प्राप्त सहयोगका लागि सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्दै यसबीचमा चीन सरकारका विभिन्न तहबाट प्राप्त सहयोगको पनि उच्च प्रशंसा गनुभयो । गान्सु प्रान्त सरकारका प्रतिनिधि होङले आफ्नो सरकारका तर्फबाट पहिलो सहयोग भएको उल्लेख गर्दै आवश्यकताअनुसार थप सहयाग गर्ने जानकारी दिनुभयो ।

चीनबाट शुरु भएको कोरोनाको प्रकोप अहिले विश्वव्यापी भइसकेको सन्दर्भमा आफूहरुले यसबाट प्रभावित देशलाई सक्दो सहयोग गर्न चाहिरहेको उल्लेख गर्दै उहाँले कोरोनाविरुद्धको यो लडाइँ जित्न थप आवश्यकता चाहिएमा खुलस्तरुपमा भन्नसमेत आग्रह गर्नुभयो ।

“नेपाललाई यो महामारीबाट हुनसक्ने धनजनको क्षतिबाट बचाउन थप आवश्यकता चाहिए खुलस्तरुपमा भन्नुहोला”, उहाँले भन्नुभयो, “नेपाललाई सहयोगका लागि तयार छौँ ।”
अनलाइन खबर इकान्तिपुरमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया