काठमाडौं, वैशाख १७ : असुरक्षित स्थानमा रहेका भूकम्पपीडित लाभग्राहीमध्ये चार हजार २०४ लाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
आठ हजार ७४४ भूमिहीन तथा सुकुम्वासी लाभग्राहीलाई जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्था गरी जग्गा उपलब्ध गराई निजी आवास पुनःनिर्माण गर्ने वातावरण मिलाइएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले राससलाई जानकारी दिनुभयो ।
भौगोलिकरूपमा पहिरो, बाढी लगायत जोखिममा रहेका भूकम्पपीडितलाई प्राधिकरणले पुनःनिर्माणका लागि जग्गा व्यवस्था गरेको हो । यसैगरी ४३ वटा एकीकृत बस्तीको योजना स्वीकृत भएको छ । हालसम्म नौ वटा एकीकृत बस्तीको पुनःनिर्माण सम्पन्न भइसकेको छ । २७ वटा निर्माणाधीन छन् । विभिन्न जिल्लामा ७६२ किमी सडक पुनर्निर्माण गर्नुपर्नेमा ४४३ किमीको काम सम्पन्न भएको छ । ३१९ किमी सडकको पुनःनिर्माण अन्तिम चरणमा छ ।
पुनःनिर्माणका क्रममा हालसम्म सरकार र दातृ निकायबाट रु तीन खर्ब नौ अर्ब र गैरसरकारी संस्थामार्फत रु ७२ अर्ब गरी रु तीन खर्ब ८१ अर्ब खर्च भएको छ । कोभिड १९ अर्थात कोरोना भाइरसको महामारीबाट बच्न एक महिनादेखि लकडाउन जारी रहेकाले पुनःनिर्माणका काममा असर परेको प्राधिकरणले जनाएको छ । कोरोनाबाट स्थिति सहज हुनासाथ पूर्ववत्रूपमा नै पुनःनिर्माणका काम हुने विश्वास पनि प्राधिकरणले लिएको छ ।
कोरोनाका कारण जारी बन्दाबन्दीले पुनःनिर्माण र पुनःस्थापनाका बाँकी काम सम्पन्न गर्न चुनौती भने थपिदिएको सहप्रवक्ता घिमिरेले बताउनुभयो ।