विराटनगर, वैशाख १४ : प्रदेश १ को सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरीमा १०० श्ययाको अस्पताल आजदेखि सञ्चालनमा ल्याएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश सभामुख प्रदीपकुमार भण्डारी, सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेशसभाका सदस्य सावित्री जोशी, उमिता बराइली, धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलगायतले आज निरीक्षण गर्नुभयो ।
मुख्यमन्त्री राईले कोरोनाको केन्द्रविन्दु प्रदेश भएकाले यसको उपचार र रोकथामका लागि सरकार गम्भीर भएर कार्य गरिरहेको जानकारी दिनुभयो । उहाँले कोभिड–१९ लाई पराजित गर्न ‘लकडाउन’को अनुशासित ढङ्गले पालना गर्नुपर्ने, सङ्क्रमितलाई व्यवस्थित उपचार तथा सङ्क्रमण विस्तार हुन नदिएर यसलाई पराजित गर्न सकिने धारणा व्यक्त गर्नुभयो । मुख्यमन्त्री राईले कोभिड–१९ लाई नियन्त्रणका लागि प्रदेश सरकार पूर्ण तयारी गरिसकेकाले आत्तिनु पर्ने अवस्था नभएको बताउनुभयो ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रतिष्ठानमा एक हप्ताभित्र १०० श्ययाको अस्पताल तयार भएको बताउँदै आवश्यक परेको अवस्थामा ५०० श्यया थप गर्न सकिने विचार व्यक्त गर्नुभयो । उहाँले कोरोना उपचार केन्द्रका लागि अन्य स्थानमा पनि सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिनुभयो ।
अत्याधुनिक सेवा सुविधाका साथ अस्पताल सञ्चालनमा आएको प्रतिष्ठानले जनाएको छ । प्रदेश सरकारले यसअघि विराटनगरमा कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र सञ्चालन गरेको थियो । कोभिड–१९ अस्पतालमा अहिले ३० जना सङ्क्रमितको उपचार भइरहेको छ । उक्त केन्द्रमा अहिले ५० श्यया थप गरी १०० पु-याइएको छ ।