कोरोना संक्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु

  बैशाख १४, २०७७

लण्डन, वैशाख १५ : कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ । सञ्चारमाध्यमका प्रकाशित समाचार तथा गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा ३३ नेपालीको मृत्यु भएको देखिन्छ । यसमा तीन महिला र बाँकी पुरुष छन् । यहाँस्थित नेपाली दूतावासमा भने हालसम्म ३१ नेपालीको मुत्यु भएको विवरण प्राप्त भएको छ ।

दूतावासका प्रवक्ता शरदराज आरणले दूतावासबाहेक वेलफयरले पनि छुट्टै विवरण राखेको र शनिबारमात्र सो आँकडा प्राप्त भएको जानकारी दिनुभयो । गोरखा वेलफेयर ट्रष्टमा अधिकृत तहमा कार्यरत ग्यारी घलेले ट्रष्ट भूपू गोरखाहरूका लागि काम गर्ने संस्था भएकाले बेलायतमा कोरोनाबाट निधन भएका केवल भूपू गोरखाको मात्र तथ्याङ्क राख्ने गरेको र दूतावासले सबै नेपालीको राख्ने हुँदा मृत्यु हुनेको सङ्ख्यामा फरक फरक पाइएको हुन सक्ने बताउनुभयो । मृत्यु हुनेको सङ्ख्या अझ बढी हुनसक्ने आशङ्का गरिएको छ । मृत्यु हुनेका सबै परिवारले सञ्चारमाध्यमलाई घटनाबारे जानकारी नदिन पनि सक्छन् । परिवारको इच्छाविना अस्पतालले यस्ता घटना सार्वजनिक गर्दैन । 

तपाईको प्रतिक्रिया