भारतीय क्‍वारेन्टाइनबाट एक सयजना नेपाल आए

  बैशाख १२, २०७७

भैरहवा, वैशाख १२ : लकडाउनपछि भारतका विभिन्न स्थानबाट सीमामा आएर भारतीय क्‍वारेन्टाइनमा बसेका झन्डै एक सयजना नेपाली आज देश प्रवेश गरेका छन् ।

केन्द्र सरकारले सीमाको क्वारेन्टाइनमा बसेकाबारे निर्णय गर्ने अधिकार स्थानीय सरकारलाई दिएपछि उनीहरुलाई ल्याउने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

२५ दिन पहिले सीमामा आएका उनीहरुलाई भारतको नौतनवामा क्वारेन्टाइनमा राखिएको थियो। ‘यसरी आउनेको सीमामा नै आरडिटी टेस्ट गरिन्छ । नेगेटिभ आउनेलाई आफ्नै जिल्ला गएर १४ दिन क्वारेन्टाइन बस्नेगरी पठाइन्छ । कसैको पोजेटिभ आयो भने बुटवलको कोरोना अस्पतालको आइसोलेसनमा राख्ने व्यवस्था मिलाएका छौं,’ प्रजिअ पन्थले भने ।

नौतनवा क्वारेन्टाइनमा ३ सय २४ जना नेपाली बस्दै आएका थिए । शनिबारदेखि उनीहरुलाई पनि ल्याइने पन्थले बताए ।

तपाईको प्रतिक्रिया