जनकपुरधाम, वैशाख ११ : मुलुकमा लकडाउन भएपछि प्रदेश २ मा भारतबाट लुकिछिपी एक हजार १४० जना प्रवेश गरेका छन् । तीमध्ये सबैभन्दा बढी पर्सामा ३४३, सर्लाहीमा ३३३, सप्तरीमा १४५, सिरहामा १५४, धनुषामा ९१, महोत्तरीमा १५०, बारामा ८३ र रौतहटमा १४१ जना प्रवेश गरेका सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
यस प्रदेशअन्तर्गतका आठवटै जिल्ला भारतसँग जोडिएका रहेकाले बढी सचेत रहनुपर्ने अवस्था देखिएको छ । प्रवेश गरेका मानिसलाई क्वारेन्टाइन, होम क्वारेन्टाइन र आइसोलेशनमा राखिएको छ । भारतबाट प्रवेश हुन नदिनका लागि स्थानीयले सचेत हुनुपर्ने, स्थानीय प्रहरी र नगर वा गाउपालिका, वडा कार्यालय र समाजिक विकास मन्त्रालयमा खबर गर्न उहाँले सुझाव दिनुभएको छ ।
यसैबीच, लकडाउनका कारण कृषि क्षेत्र प्रभावित भएकाले कृषिजन्य पदार्थको ढुवानीका लागि भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले कोभिड–१९ ¥यापिड रेसपोन्स टिमलाई क्रियाशील गरेको छ । सोका माध्यमबाट किसानले कृषि क्षेत्रमा उत्पादित वस्तुलाई बजारसम्म पु-याउनका लागि जिल्लाका कृषि ज्ञान केन्द्रलाई जिम्मेवारी तोकिएको उहाँले जानकारी गराउनुभयो ।
सोअन्तर्गत, कृषि ज्ञानकेन्द्र सप्तरी, कृषि ज्ञानकेन्द्र धनुषा, कृषि ज्ञान केन्द्र महोत्तरी र सर्लाहीका साथै बारा, पर्सा, रोतहट, सिरहास्थित कृषि ज्ञान केन्द्र र जनकपुरस्थित उष्णप्रदेशीय बागवानी नर्सरी केन्द्रलाई तोकिएको हो । यस्तै, पशुपक्षीतर्फ मत्स्य विकास केन्द्र लहान, सिरहा, मत्स्य विकास केन्द्र फत्तेपुर, सप्तरीलाई तोकिएको छ भने धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी जिल्लास्थित भेटनरी तथा पशुसेवा विज्ञ केन्द्रलाई तोकिएको सचिव डा रामप्रसाद घिमिरेले बताउनुभयो ।