आरडीटीमा पोजिटिभ देखिएका वृद्धको पीसीआर परीक्षणमा नेगेटिभ

  बैशाख १०, २०७७

रूपन्देही, वैशाख १० : बर्दघाट नगरपालिका–४ का ७८ वर्षीय वृद्धलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट दुई पटकसम्म गरिएको परीक्षणमा पोजिटिभ देखिएकोमा आरटी पीसीआर परीक्षणमा नेगेटिभ आएको छ ।

मंगलबार उनको चिसापानी सामुदायिक अस्पतालमा कोरोना भाइरस एन्टिबडी परिक्षण गरिएको थियो। उनी दमका रोगीसमेत भएकाले स्वासप्रश्वासमा समस्या देखिएपछि गरिएको परीक्षणमा पोजेटिभ देखिएको थियो। तर, भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आरटी पीसीआर मेसिनबाट गरिएको परीक्षणमा नेगेटिभ देखिएको प्रयोगशाला प्रमुख डा. राजेन्द्र गिरीले बताए। ‘अहिलेसम्म आरडीटी किटको परीक्षणमा पहिलो पोजिटिभ देखिएको थियो,’ उनले भने, ‘आरडीटीमा दुई पटक पोजिटिभ देखिएको भए पनि पीसीआरमा नेगेटिभ देखिएको छ।’

आरडीटीमा पोजिटिभ देखिएपछि वृद्धलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो। रिपोर्ट नेगेटिभ आएकाले अब आवश्यक प्रक्रिया पूरा गरेर डिस्चार्ज गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए। वृद्धका परिवार सबैको आरडीटी परीक्षण गरे पनि अन्यको भने मंगलबार नै नेगेटिभ रिपोर्ट आएको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया