हिमा गाउँपालिकाका अधिकृतद्वारा घरभाडा नलिने घोषणा

  बैशाख १०, २०७७

जुम्ला, वैशाख १० : हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले सदरमुकाम खलङ्गामा रहेको आफ्नो घरको भाडा नलिने घोषणा गर्नुभएको छ ।

चन्दननाथ नगरपालिका–४ पीपलधारा मालाभिडका टोपबहादुर बुढाले सरकारले चैतको घरभाडा नलिन आह्वान गरेपछि आफूले पनि घरभाडा नलिने बताउनुभयो ।

गत चैतको मासिक घरभाडा रु २० हजारसहित पानी र बिजुलीको महसुल पनि नलिने निर्णय गरिएको उहाँकी पत्नी सीताले जानकारी दिनुभयो ।

यसअघि चन्दननाथ नगरपालिका–९ का वडाध्यक्ष मीनबहादुर डाँगीले दुई घरको मासिक रु ३१ हजार ५०० र प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले २१ हजार घरभाडा नलिने घोषणा गर्नुभएको थियो ।

यसैबीच उच्च अदालत सुर्खेत, जुम्ला इजलासले म्याद नाघेको नुन वितरण नगर्न र गर्न नलगाउन आदेश गरेको छ ।

कोरोना भाइरसका कारण लकडाउन भएपछि हिमा गाउँपालिकाले राहत वितरण गर्दा म्याद नाघेको नुन वितरण गरेको भन्दै सोही गाउँपालिका–१ का प्रतिभा शाही र नेत्रबहादुर शाहीले यही वैशाख ७ गते रिट निवेदन दायर गरेपछि अदालतले वैशाख ९ गते सो आदेश गरेको हो ।

मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दका अनुसार म्याद नाघेको नुनका विषयमा गाउँपालिका र गाउँ कार्यपालिकाका नाममा रिट दायर भएको थियो ।

तपाईको प्रतिक्रिया