सातै प्रदेशका प्रहरी प्रमुखको जिम्मेवारी तोकियो

  बैशाख ०८, २०७७

काठमाडौं, वैशाख ८ : सोमबार पदोन्नती भएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुलाई सरकारले प्रदेश प्रमुखको रुपमा खटाउने तयारी गरेको छ । हाल प्रदेश २ मा रहेका डीआईजी प्रद्युम्न कार्की र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा रहेका निरज शाहीलाई सरुवा गर्दै त्यहाँ पनि नवनियुक्त डीआईजीलाई पठाउने तयारी गृहले गरेको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार प्रदेश १ मा डीआईजी ईश्वरबाबु कार्कीलाई पठाउने भएको छ । प्रदेश २ मा धिरजप्रताप सिंह, बागमती प्रदेशमा बसन्त लामा, गण्डकी प्रदेशमा प्रकाशजंग कार्की, प्रदेश ५ मा रबिन्द्र बहादुर धानुक, कर्णाली प्रदेशमा बसन्त पन्त र सुदुरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीलाई पठाउने भएको हो ।

यस्तै सीआईबीमा सहकुलबहादुर थापालाई पठाउने गृह स्रोतले जानकारी दिएको छ । निरज शाही, प्रद्युम्न कार्की र सोमबार नै बढुवा भएका अरुणकुमार बीसी तथा धनश्याम अर्याललाई अख्तियार, विशेष व्यूरो, तालिम केन्द्र र प्रधान कार्यालयको जिम्मेवारी दिने तयारी छ । सिफारिस भएको १० दिनपछि नवनियुक्त १० डीआईजीलाई सोमबार दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा सोमबार प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले नवनियुक्त डीआईजीहरुलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् । नवनियुक्त डीआईजीहरुलाई सोमबार नै पत्र थमाउने गरी तयारी भइरहेको पनि गृह स्रोतले जानकारी दियो । गत चैत २८ गते बढुवा समितिले १० एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको नेपाल खबर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया