नयाँ भेन्टिरलेटर खरीद गर्दै महाकाली अस्पताल

  बैशाख ०७, २०७७

भीमदत्तनगर, वैशाख ७ : कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालका लागि केही दिनअघि ल्याइएको भेन्टिलेटरसहितका उपकरण सप्लायर्स कम्पनीले पुराना र खिया लागेका थोत्रा उपकरण पठाएपछि समस्या भएको छ । “यस्तो विषम परिस्थतिमा पनि सप्लासर्यले गलत मनसायले पुराना सामान पठाएको जस्तो लाग्छ”, महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले भन्नुभयो, “गलत गर्नेलाई कारवाहीका लागि राज्यले ध्यान देओस्,” उहाँले भन्नुभयो, “अख्तियारले पनि छानबिन थालेको छ, यथार्थ बाहिर आउनेमा आशावादी छौँ ।”

महाकाली अस्पताललाई भेन्टिलेटरलगायतका केही उपकरण खरीद गर्न चैत १२ गते प्रदेश सामाजिक विकास मन्त्रालयले रु एक करोड रकम प्रदान ग-यो । अस्पतालले सोही अनुसार चैत १६ गते सातदिने सूचना जारी गरेर प्रक्रियाअनुसार उपकरण उपलब्ध गराउने जिम्मा आरजी सप्लायर्स काठमाडौँले पाएको अस्पताल प्रशासनको भनाइ छ ।

अस्पतालका अनुसार उक्त सप्लायर्स रु ५३ लाख ८७ हजारमा उपकरण उपलब्ध गराउने सहमति गरिएको थियो । अस्पताल प्रशासनले उक्त उपकरण खरीदका लागि रु ५५ लाख ७० हजार लागत अनुमान गरेको थियो । “मन्त्रालयबाट आउनुभएका बायो मेडिकल इन्जिनीयरसहितको मूल्याङ्कन समितिले आरजी सप्लायर्सका सबै कागजी कागजात ठीक भनेपछि तीन दिनभित्र सम्झौताका लागि गत चैत २८ गते पत्राचार ग¥यौँ ।” अस्पताल प्रशासनका लेखा अधिकृत नन्दराज भट्टले भन्नुभयो, “तर सम्झौता नगरी अचानक चैत ३० गते उपकरण सप्लायर्सले अस्पतालमा पु-यायो ।”

उहाँले सम्झौताका लागि पुनः दुई दिनको म्याद थप गरेर वैशाख ४ गतेभित्र सम्पर्क गर्न भनेपछि अझै उक्त कम्पनी सम्पर्कमा नआएको बताउनुभयो । “भेन्टिलेटरका लागि यहाँ रहेको चिकित्सकसहितको टोलीले हेर्दा सामान पुराना र खिया लागेका भेटेपछि सबै कुरा बाहिर आएको हो ।” भट्टले भन्नुभयो, “सम्झौता नै नभएकाले उक्त सप्लायर्ससित कुनै आर्थिक कारोवार भएको छैन ।”

पुराना उपकरण दिएको पर्दाफास भएपछि भेन्टिरलेटरको काम रोकिएको छ । “मिडियामा सप्लायर्सले नमुनाका लागि पठाएको हो भन्ने र बोल्ने तर यहाँ सम्झौताका लागि नआउने ?”, अस्पताल स्रोतले भन्यो, “सप्लायर्सकै इन्जिनीयर यहाँ आएर भेन्टिलेटरको उपकरण दुई घण्टा मात्रै चलेको हो भन्ने कुराले नियत ठीक देखिँदैन ।”

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय भीमदत्तनगरले पनि उक्त उपकरणका विषयमा कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यता अस्पताल व्यवस्थापन समिति भने हाल पठाएका भेन्टिलेटरसहितका सामग्री जफत गरेर नयाँ भेन्टिलेटर खरीदका लागि प्रक्रिया अघि बढाउने तयारीमा रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताउनुभयो । “पुराना सामान पठाउने सप्लायर्सलाई कारवाहीको पाटो छँदैछ, अहिले नयाँ खरीदका लागि बोलपत्र प्रक्रियामा जाने गृहकार्य हुदैछ ।” अध्यक्ष जोशीले भन्नुभयो, “स्वास्थ्य उपकरण खरीदमा गलत मनसाय राख्ने जो कोहीलाई पनि कारवाहीबाट छुट दिनु हुदैन ।”

त्यसैगरी कोरोना भाइरस नियन्त्रणका लागि सङ्घीय सरकारले सुदूरपश्चिम पठाएका ३३ जना चिकित्सकमध्ये चारजना आइतबार भीमदत्तनगरको महाकाली अस्पताल आइपुगेका छन् । अस्पतालका अध्यक्ष जोशीले चिकित्सक टोली पुगिसकेको जानकारी दिँदै बिरामीको सेवामा तत्काल खटिने बताउनुभयो । “डाक्टरहरुको सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामग्रीका विषयमा पनि हामी गम्भीर छौँ”, जोशीले भन्नुभयो, “अहिले अस्पतालमा अन्य रोगका विशेषज्ञहरु पनि सेवारत हुनुहुन्छ ।”

महाकाली अस्पतालको आइसोलेशन कक्षबाट हालसम्म कोरोना भाइरस परीक्षणको रिपोर्ट नेभेटिभ आएपछि ६ जना घर फर्किसकेको अस्पतालले जनाएको छ । अस्पतालले स्वास्थ्य सामग्री अभाव नरहेको जनाउँदै अस्पतालमा १३० थान पिपिई मौज्दात रहेको जनाएको छ ।

९२ लाखको आइसोलेशन कक्ष बन्दै
कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारका लागि कञ्चनपुरको महाकाली अस्पतालमा ५० श्ययाको आइसोलेशन कक्ष निर्माण आइतबारदेखि शुरु भएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस नियन्त्रणका लागि महाकाली अस्पताल परिसरमा आइसोलेशन कक्ष बनाउन रु एक करोड रकम विनियोजन गरेको छ ।

सोहीअनुसार आइतबार नै रु ९२ लाख ६७ हजारमा डिपिन बिल्डर्स नामक निर्माण कम्पनीसित सम्झौता भएर काम शुरु भइसकेको महाकाली अस्पताल प्रशासनका लेखा अधिकृत नन्दराज भट्टले जानकारी दिनुभयो । “सम्झौतामा आगामी जेठ ६ गते सम्पन्न गरिसक्ने भनिएको छ”, लेखा अधिकृत भट्टले रासससित भन्नुभयो, “आइसोलेशन कक्षभित्र राख्न बेड र फर्निचरका लागि पनि हामीले मन्त्रालयसित रकम माग गरेका छौँ ।”

मन्त्रालयले आइसोलेशन कक्ष निर्माणका लागि रकम विनियोजन गरे पनि त्यसका लागि आवश्यक श्यया र अन्य फर्निचरका लागि रकम छुट्याएको छैन । “बेड र फर्निचरका लागि रु दश लाख माग गरेका छौँ”, उहाँले भन्नुभयो, “स्टोरमा अन्य स्वास्थ्य सामग्रीहरु अहिलेलाई पुग्ने जति छ ।” प्रदेश सरकारले ५० कोठाको ती अस्पताल प्री–फ्याव प्रविधिबाट निर्माण हुनेछन् । सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुर र कैलालीमा कोरोना सङ्क्रमितको उपचारका लागि ५० र ५० श्ययाको कोरोना अस्पताल बनाउने घोषणा गरेको थियो । सोही अनुसार धनगढीमा निर्माण शुरु भइसकेको छ ।

तपाईको प्रतिक्रिया