काठमाडौँ, वैशाख ७ : लकडाउनका कारण भारतीय भन्सार तथा राजमार्गमा अड्किएका सवारी साधनलाई भारतले नेपाली सीमासम्म सहज रुपमा आवत जावत गर्न दिने भएको छ ।
नेपालमा निर्माणाधीन अवस्थामा रहेका बिभिन्न जलविद्युत् आयोजनाका सामान, उपकरण तथा मेसिनहरु बोकेका सवारी साधन लकडाउनका कारण भारतमै अड्किएका थिए । जलविद्युत् आयोजनाका लागि आवश्यक उपकरण तेस्रो मुलुकबाट र कतिपय भारतीय उद्योगबाट उत्पादित सामान नेपाल भित्रिन नसक्दा जलविद्युत् आयोजनाको काम प्रभावित भइरहेका बेला भारतले सहजीकरण गर्ने भएको छ ।
दुबै देशमा लकडाउनको अवधि सञ्चालन भइरहेका बेला ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले भारतीय समकक्षी सञ्जीव नन्दन सहायसँग सहयोगका लागि आग्रह गरेपछि भारतीय पक्ष सकारात्मक देखिएको हो ।
लकडाउनका बेला सचिव घिमिरेले समकक्षीसँग भर्चुअल बैठक गरी यस्तो आग्रह गर्नुभएको हो । सो बैठकपछि आइतवार नै भारतीय ऊर्जा मन्त्रालयका अतिरिक्त सचिवको कार्यालयले भारतमा अड्एिका सवारी साधनको विवरण मागिसकेको छ ।
सचिव घिमिरेले आइतवार गोरखापत्रसँग भन्नुभयो, मैले भारतीय ऊर्जा सचिवसँग कुरा गरेपछि त्यहाँको अतिरिक्त सचिवको सचिवालयले जलविद्युत्का सामान, उपकरण बोेकेका सवारी साधन र अड्किएको स्थानका बारेमा विवरण माग गरेको । त्यसका विवरण हामी आजै पठाउन थालेका छौँ । अब चाँडै उताबाट सवारी साधनको पासको व्यवस्था भएपछि सीमा नाकासम्म सवारी साधन आउने छन् ।
हाल नेपालमा सरकारी क्षेत्रबाट निर्माणाधीन अवस्थामा रहेका माथिल्लो तामाकोशी, रसुवा, साञ्जेन, भोटेकोशी लगायतका जलविद्युत् आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगे पनि सामानको अभावमा काम रोकिदै आएको छ । उता नीजि क्षेत्रबाट निर्माणाधिन अवस्थामा रहेका जलविद्युत् आयोजनाका काम पनि ठप्प हुँदै आएका छन् ।
त्यसैगरी सचिव घिमिरेले भारतीय समकक्षीसँग भारतसँग जोड्ने बुटवलदेखि गोरखपुरसम्मको अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी खडा गर्ने प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको बताउनुभयो ।
सो प्रसारण लाइन निर्माण गर्न कम्पनी खडाको प्रक्रिया र शेयर होल्डर सम्झौता लकडाउनका अवधि समाप्त भए लगत्तै गर्नपर्नेमा पनि भर्चुअल बैठकमा नेपालले जोड दिइएको छ । नेपालका प्रश्तावमा भारत सकारात्मक देखिएको सचिव घिमिरेले बताउनुभयो ।
त्यसैगरी सचिव घिमिरेले बंगलादेशका ऊर्जा सचिवसँग पनि कुराकानी गर्नुभएको छ । भारत र बंगालदेशका समकक्षीसँगको कुराकानीमा विद्युत् व्यापारका लागि नेपाल, भारत र बंगलादेशबीच त्रीदेशीय संयन्त्रण निर्माणका लागि प्रश्ताव राख्नुभएको छ ।