काठमाडौं, वैशाख ७ : सरकारी वकिलको कार्यालयले कालोबजारी आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालको अनुसन्धान प्रतिवेदन प्रहरीलाई नै फिर्ता गरिदिएको छ। शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो ।
तर, थप अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै सरकारी वकिलले परिसरमै प्रतिवेदन फिर्ता गरिदिएको हो । चैत २५ गते अग्रवाल ज्वरो नाप्ने ६७ थान थर्मल गन सहित नक्सालस्थित शंकर ग्रुपको कार्यालय अगाडीबाट पक्राउ परेका थिए । शंकर ग्रुपका निर्देशकसमेत रहेका अग्रवाल नेपालका लागि किर्गिजस्नतानका अवैतनिक दुतसमेत हुन् ।
प्रतिवेदन फिर्ता गरेसँगै आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले अग्रवालविरुद्धको कसुरमा थप अनुसन्धान गर्न १० दिनको समय दिएको छ । परिसर कठमाडौंले अनुसन्धान नसकिएपछि म्याद थपका लागि आइतबार प्रशासनसग अनुमति मागेको थियो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले अनुसन्धानका लागि प्रहरीलाई थप १० दिनको समय दिइएको बताए ।
यसअघि २ पटक म्याद लिएर उनीमाथि अनुसन्धान भएको थियो । उनलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ । अग्रवाल कूटनीतिक सुविधाबापत पाएको गाडीमा राखेर थर्मल गन महंगो मूल्यमा बिक्री गर्दागर्दै पक्राउ परेपछि सरकारले अन्य अवैतनिक दूतको कूटनीतिक सबारी सुविधासमेत खोसेको थियो ।
प्रहरीका अनुसार कालोबजारी विरुद्धको ऐन २०३२ अनुसार उनीमाथि अनुसन्धान भइरहेको छ । सेटिङ मिलाएर अग्रवालले चीनबाट थर्मलगनलगायतका स्वासथ्य सामग्री भित्र्याएका थिए । नेपाल ल्याएपछि ती सामान गुपचुप महंगोमा बिक्री गरेको सूचना पाएपछि प्रहरी नै ग्राहक बनेर अग्रवाललाई फन्दामा पारेको थियो । ३ हजार पर्ने थर्मल गन अग्रवालले २० हजार रुपैयाँसम्म लिएर बिक्री गरेको आरोप छ । उनले करीब २० हजार थान थर्मल गन सेटिङमा नेपाल ल्याएको बताइए पनि प्रहरीले उनीबाट ६७ थानबाहेक अरु बरामद गर्न सकेको छैन ।
अग्रवालले एसजी वर्ल्ड आयात कम्पनीका नाममा १ हजार २ सय वटा थर्मल गन ल्याएकाे देखिएको छ । सुरुको बयानमा सामान नल्याएको दावी गरेका अग्रवालले प्रहरीले भन्सार विभागबाट कागजात झिकाएपछि मात्रै स्वीकारेका थिए । प्रहरीले अरुबाट पनि सामान भित्रिएको भन्दै अनुसन्धान गरिरहेको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।