लकडाउनका बेला थपियो ४९ अर्ब निक्षेप

  बैशाख ०७, २०७७

काठमाडौं, वैशाख ७ : कोभिड–१९ को संक्रमणबाट बच्न सरकारले लकडाउन घोषणा गरेकै अवधि (चैत) मा पनि वाणिज्य बैंकहरुमा कुल ४९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । लकडाउनका कारण बैंक तथा वित्तीय संस्था बन्द छन् । सीमित बैंकिङ कारोबारका लागि मात्र दैनिक ३ घण्टा केही शाखा खुलेका छन् । ग्राहक धेरै कम छन् । संक्रमणकालीन अवधिमा पनि २७ वटा बैंकमा झन्डै ५० अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । फागुनमा ती बैंकमा कुल ७४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।

चैत मसान्तमा निक्षेप (कल, बचत र मुद्दती) को ब्याज गणना हुने भएकाले पनि बैंकहरुमा निक्षेप बढेको हुन सक्ने बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले बताए । त्रैमासिक रूपमा ४५/५० अर्ब रुपैयाँ निक्षेप स्वाभाविक भएको उनको भनाइ छ । लकडाउनको अवधिमा बैंकहरुमा ग्राहक नआए पनि केही बैंकहरुमा निक्षेप धेरैले बढेको छ । ती बैंकमा खासगरी खाद्यान्न व्यापारी, ग्यास, औषधि तथा औषधिजन्य व्यापारीबाट ठूलो निक्षेप आएको बैंकहरुको भनाइ छ ।

यस्तो निक्षेप व्यापारिक घरानाहरु ग्राहक भएका बैंकमा धेरै संकलन भएको छ । तर व्यक्तिगत निक्षेप धेरै भएका बैंकमा भने निक्षेप खासै नबढेको जानकारी प्राप्त भएको छ । सो अवधिमा केही बैंकमा रेमिट्यान्स आप्रवाह पनि बढेको छ । यसले पनि बैंकहरुमा निक्षेप बढेको हो । तर चैतमा समग्र रेमिट्यान्स आप्रवाह घटेको बताइएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार चैत मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ३१ खर्ब ८९ अर्ब रुपैयाँ छ । ०७६ फागुन मसान्तमा यस्तो निक्षेप ३१ खर्ब ४० अर्ब रुपैयाँ थियो ।

चैतमा वाणिज्य बैंकहरुले ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यससँगै २७ वाणिज्य बैंकको कुल कर्जा प्रवाह २८ खर्ब ४५ अर्ब रुपैयाँ छ । गत फागुनमा कुल कर्जा प्रवाह २८ खर्ब ३ अर्ब रुपैयाँ थियो । लकडाउनको अवधिमा कर्जा प्रवाह पनि हुन सकेको छैन । ‘चैत १० सम्म त नियमित कारोबार नै भएको थियो, यही अवधिमा बैंकहरुले एनसेललाई ऋण दिएका छन्,’ बैंकर्स संघका अध्यक्ष दाहालले भने, ‘लकडाउनको अवधिमा पनि औषधिजन्य सामग्री खरिदका लागि एलसी (प्रतीतपत्र) खोलेका छन् ।’

कोरोना उपचारमा आवश्यक औषधि, सुरक्षणका उपकरण तथा उपचारजन्य सामग्री आयातका लागि केही एलसी भने खुलेका छन् । ती सामान खरिदका लागि राष्ट्र बैंकले केही खुकुलो नीति अपनाएको छ । कोरोना संक्रमण रोकथाम कोषमा योगदान गरेका रकम बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मा गणना गर्न पाउने, कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक औषधि, उपकरण, औजारलगायत सामग्री आयात, बिक्रीवितरणका लागि ऋण माग भए ५ दिनभित्र उपलब्ध गराउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

हाल वित्तीय प्रणालीमा करिब ६० अर्ब रुपैयाँ अधिक तरलता (सीआरआरबाहेकको लगानीयोग्य रकम) छ । तीन साताअघि यस्तो तरलता झन्डै १ खर्ब थियो । चैत अन्तिम साता सरकारले ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको, चैत मसान्तमा करबापत ठूलो रकम सरकारी खातामा गएको, दिनहुँ कोरोना उपचार कोषमा रकम संकलन भएकोलगायत कारण वित्तीय प्रणालीमा तरलता अभाव भएको कान्तिपुरमा उल्लेख छ ।

अहिले बजारमा ऋणको माग पनि कम भएकाले प्रणालीमा रहेको तरलता पर्याप्त देखिएको बैंकरहरुले बताएका छन् । हाल बैंकहरुको कर्जा निक्षेप तथा पुँजी अनुपात (सीसीडी) औसत ७७ प्रतिशत छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले कुल निक्षेपको ८० प्रतिशत मात्र ऋण प्रवाह गर्न पाउँछन् । लकडाउनको अवधिमा हालको तरलता सहज देखिए पनि ऋणको माग बढ्न थालेपछि त्यो कम हुने बैंकरहरुले बताएका छन् । बैंकहरुमा लगानीयोग्य रकम अभाव हुने अवस्था आउन नदिन सरकारी खर्च बढाउनुपर्ने अध्ययक्ष दाहालले सुझाए ।

तपाईको प्रतिक्रिया