दार्चुला, वैशाख ४ : जिल्लाका हिमाली क्षेत्रमा यार्सागुम्बा संकलन गर्ने मौसम शुरु हुँदैछ । वैशाख दोस्रो साताबाट स्थानीय यार्सागुम्बा संकलनका लागि लेक उक्लिन चाँजोपाजो मिलाउन शुरु गर्ने गर्छन् । तर यार्सागुम्बा संकलनका लागि चाजोपाँजो मिलाउने बेला यो वर्ष विश्वव्यापीरुपमा फैलिएको कोराना महामारीका कारण यार्सागुम्बा टिप्न अनिश्चित भएको छ ।
संकट व्यवस्थापन केन्द्र दार्चुलाले यो वर्ष लकडाउनका कारण यार्सागुम्बा संकलनका लागि अनुमति तथा सहमति नदिने निर्णय गरेसँगै यार्सागुम्बा संकलन यो वर्ष अनिश्चित भएको हो । प्रमुख जिल्ला अधिकारी एवं संकट व्यवस्थापन समितिका अध्यक्ष यदुनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले सबै स्थानीय तहमा यो वर्ष यार्सागुम्बा संकलनका लागि अनुमति र सहमति नदिने निर्णय गरेको बताइएको छ ।
हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा संकलनका लागि लकडाउन अवधिभर अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय र सरोकारवाला निकायमा यार्सागुम्बा संकलन अर्को आदेश नभएसम्मका लागि नगर्न नगराउन बैठकले निर्देशन गरेको हो । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले पनि आज सार्वजनिक सूचना जारी गर्दै संकट व्यवस्थापन केन्द्रको निर्णयलाई आधार मान्दै अर्काे सूचना नभएसम्म यार्सागुम्बा संकलन गर्न रोक लगाएको जनाएको छ ।
दार्चुलामाका यार्सागुम्बा पाइने पाटनमा वैशाख दोस्रो साताबाट यार्सागुम्बा संकलन शुरु हुने गरेको छ । तर यो पटक वैशाख दोस्रो सातासम्म लकडाउन अवधि रहेका कारण अर्को आदेश नभएसम्मका लागि यार्सागुम्बा संकलनमा रोक लगाइएको प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बताउनुभयो ।
जिल्लामा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयबाट अनुमति लिएर हजारौँको संख्यामा यार्सागुम्बा संकलन गर्न जान्छन् । महामारीका बेला यार्सागुम्बा संकलन खुला गरिँदा यसले झन जोखिम हुन्छ । मौसम पनि शुरु हुनै लागेकाले अहिलेदेखि रोक लगाइएको मेहताले बताउनुभयो ।
यस वर्ष हिउँ पग्लि नसकेका कारण केही ढिला भए पनि मौसम शुरु हुनै लागेकाले उत्तरी भेगका स्थानीय यार्सा टिप्न जाने तयारीमा थिए । यो बेला बजारबाट लेकका लागि चाहिने खाद्य सामग्री, जुत्ता त्रिपाल खरिद गरी उक्कलिने तयारी गरिन्छ ।
जिल्लामा वैशाख दोस्रो सातादेखि असार मसान्तसम्म यार्सागुम्बा संकलन हुने गर्छ । व्यासका बासिन्दा दानसिंह कार्की लेकमा यार्सागुम्बा संकलनको समय शुरु हुनै लागेको भन्दै लकडाउनका कारण यो पटक भने समस्या सिर्जना गरेको बताउनुहुन्छ । “यो पटक लेक कसरी उक्लिने चिन्ता छ”, उहाँले भन्नुभयो, “सबैलाई बन्द गराइए ठिकै हो, कोही लेक पुग्ने कोहीलाई बन्द भए जीविकोपार्जनको माध्यम बन्द हुन्छ ।”
जिल्लाका अपिहिमाल, व्यास गाउँपालिका, नौगाड गाउँपालिका र मार्मा गाउँपालिकाका अधिकांश स्थानीय एकदेखि डेढ÷दुई महिनाका लागि पुग्ने खानेकुरा, लत्ताकपडा आवश्यक सामग्री लिएर लेक जाने गर्छन् । यहाँका स्थानीयको अधिकांशको वर्षभरिको खाद्य जोहोको आधार भनेकै यार्सागुम्बा हो । “वर्षभरिको जीविका चल्ने यार्सागुम्बा टिप्न नपाइ भने समस्या हुने भयो”, कार्कीले भन्नुभयो ।
गत वर्षदेखि यार्सागुम्बा व्यवस्थापन संकलन तथा ओसारपसार निर्देशिका २०७३ अनुसार जेठ दोस्रो साताबाट यार्सागुम्बा संकलनका लागि इजाजत दिन शुरु गरेको थियो । तर स्थानीय भने हरेक वर्ष समयअगावै लेक पुग्ने गरेका थिए ।
अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले हरेक वर्ष अनुमति जारी गर्छ । यहाँका यार्सागुम्बा पाइने पाटन, अपि फेद, लोलु, रोखापु, सातगंगा, चाइमटेला, काटै, धरमघर, क्षति, व्यास, दूधीवनलगायतका क्षेत्रमा यार्सा संकलन हुने गरेको छ । यहाँका पाटनमा हरेक वर्ष पाँचदेखि १० हजार मान्छे जाने गरेका संरक्षण क्षेत्रको तथ्यांक छ ।
यहाँबाट वार्षिक पाँचदेखि आठ क्वीन्टलसम्म यार्सागुम्बा ढुवानी हुने गर्छ । यहाँका अपिहिमाल, व्यासलगायतका क्षेत्रमा यार्सागुम्बा संकलनका लागि एक महिनासम्म विद्यालय बिदा दिइन्छ । यहाँका हिमाली क्षेत्रका स्थानीय विद्यालय भर्ना अभियान सकिएपछि लेकका लागि तयारी गर्छन् ।
त्यही लेकमा संकलन गरेको यार्सागुम्बाले हिमाली क्षेत्रका नागरिकले पढाइ खर्च जोहो गर्ने गर्छन् । उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्ना दुई वर्षदेखि यार्सागुम्बा संकलन गरिए पनि व्यापारीले बिक्री गर्न नसक्दा समस्या भएको बताउनुहुन्छ । “कोही व्यापारीले दुई वर्षदेखि उचित मूल्य नपाएको भन्दै यार्सागुम्बा बिक्री गरेका छैनन्”, अध्यक्ष ठगुन्नाले भन्नुभयो, “यार्सागुम्बा पनि कम हुँदै गएको छ ।”
छिमेकी जिल्ला बझाङमा पनि यो वर्ष कोरोना महामारीका कारण यार्सा संकलनमा रोक लगाइको छ । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले अर्को आदेश जारी नभएसम्मका लागि सबै स्थानीय तह र डिभिजन वन कार्यालयमार्फत यार्सा संकलनको अनुमति र सहमति नदिने निर्णय गरेको हो । बझाङका सुर्मा, मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुंगल तथा जयपृथ्वी नगरपालिकाका तीन÷चार हजार स्थानीयवासी लेक पुग्छन् ।