काठमाडौँ, वैशाख ४ : लकडाउनमा मदिरा सेवन (मापसे) गरी सवारी चलाउने २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैको लकडाउन सवारी पास खारेज गरिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्न सरकारले लकडाउन जारी गरेसंगै जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएका कतिपयले मदिरा सेवन गरी पासको दुरुपयोग गरेको पाइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले सवारी पासको ‘आड’ मा मदिरा सेवन गरी सवारी चलाउने, पासलाई ‘सान’ र ‘शक्ति’ ठान्नेहरूको पास खोस्ने तथा कारवाही भइरहेको बताउनुभयो ।
नयाँ वर्षको अघिल्लो साँझ चैत ३० गतेपछि सडकमा पास भएका सवारी साधन बाक्लो गुड्न थालेपछि ट्राफिक प्रहरीले मापसे शुरु गरेको थियो । पास भएका २१ जना चालक मदिरा सेवन गरेको अवस्थामा भेटिएका हुन ।
विहीवारबाट लकडाउन कार्यान्वयनमा कडाई गरिएको छ, महहाशाखा प्रमुख ढकालले भन्नुभयो– पास भएपनि विना काम घुम्न सडकमा निष्केकाहरूको पास खोस्न शुरु गरिएको छ । चालकहरूलाई सोधपुछ गरिएको छ ।
पासको दुरुपयोग गरेको अभियोगमा एकहजार आठसय ४६ वटा सवारी साधनको पास खोसिएको छ । महाशाखाका अनुसार, लकडाउन अवधिमा आठहजार नौसय ७४ सवारी साधन कारवाहीमा परेका छन् । आजपनि हजार भन्दा बढी सवारी साधन कारवाहीमा परेका छन् ।
खाद्य सामग्री बोकेका वाहेक अन्य निजी तथा सरकारी कार, मोटरसाइकलमा सवार ब्यक्तिको विषयमा जानकारी लिने र प्रेसका सवारी साधनको हकमा पनि सोधपुछ गर्न थालिएको छ । बाक्लो सवारी चाप बढ्नुमा पासको दुरुपयोग भएको बुझाई प्रहरीको छ ।