लकडाउनमा ध्रुवे हात्ती ‘रोमान्स’मा मस्त

  बैशाख ०२, २०७७

चितवन, वैशाख २ : ध्रुवे हात्तीको नाम नसुन्ने नेपाली कमै होलान् । अहिले संसार कोरोना भाइरसको त्रासमा छ । कुनै बेला चितवनको माडीबासीका लागि ध्रुवे हात्ती पनि आतंकको अर्को रुप थियो । खेतबारीमा निस्कन नपाइ घरभित्रै बस्नु पर्ने बनाएको थियो यो जंगली भाले हात्तीले । बाहिर निस्केका मान्छेलाई ध्रुवेले धमाधम निशाना बनाइरहेको थियो । ध्रुवेलाई मार्न राज्य नै लाग्यो । १६ लाख रुपैयाँ खर्च भयो तर ध्रुवे एकाएक गायब भयो ।

कोरोना महामारीले विश्वभर नै लकडाउन छ। मान्छेहरु घरभित्रै कैद भएका छन्। यो बेला ध्रुवे हात्ती भने जंगलभित्र ‘प्रेमलिला’ मा मग्न छ। ध्रुवे पहिलाको जस्तो उग्र हुन छाडेको धेरै नै भयो। प्रायः चितवन निकुञ्जको पश्चिम क्षेत्र र माडीमा घुम्ने यो हात्ती अहिले निकुञ्जको पूर्वी क्षेत्र सौराहा नजिकको खोरसोरमा आएको छ। खोरसोरमा हात्ती प्रजनन् केन्द्र छ। केन्द्रका पोथी हात्तीसँग धुर्वेकाे ‘रोमान्स’ सुरु भएको छ।

‘यो क्षेत्रमा ध्रुवे देखिएको तीन दिन भयो। दुई दिनयता प्रजनन् केन्द्र छाडेको छैन। सोमबार साँझ यहाँको हात्ती कर्णालीकलीसँग उसको रोमान्स चल्यो’ प्रजनन् केन्द्रका प्रमुख बुधन चौधरीले भने। गर्भाधान भएको २० देखि २४ महिनाभित्र हात्तीले बच्चा जन्माउँछ। आउँदो दुई वर्षभित्र केन्द्रमा कर्णालीकलीको कोखबाट बच्चा जन्मिनेमा चौधरी ढुक्क छन्। केन्द्रका पोथी हात्तीले जंगली भाले हात्तीकै यौन सम्पर्कबाट बच्चा जन्माउने गर्दछन्।

प्रजनन् केन्द्र सौराहाका मुख्य पर्यटकीय आकर्षणमध्ये पर्दछ। सौराहा घुम्न आउने धेरैजसो पर्यटक खोरसोर पुगेर हात्तीका साना ठूला छावाको चकचक हेरेर दंग पर्दछन्। तर कोरोना कहर बढ्दै जाँदा चैत आठ गतेदेखि केन्द्र बन्द छ। अहिले त पुरै सौराहा सुनसान छ। प्रजनन् केन्द्रमा पनि बाहिरका कोही जान नपाउनेगरि बन्द गरिएको छ। बार बन्देज मान्छेका लागि न हो। ध्रुवेलाई छेकबार लगाउन कल्ले सक्नु।

आतंक छाडेर प्रेमीको रुपमा प्रकट
मान्छेले सकेको भए ध्रुवेहात्तीलाई उहिल्यै मार्ने थिए। ०६६ सालतिर चितवन निकुञ्ज क्षेत्रमा देखा परेको यो जंगली भाले हात्तीले सोही वर्षको माघमा पहिलोपटक मान्छे मार्‍यो। ०६९ सालको हिँउदमा यसको आतंक उत्कर्षमा थियो। यो हात्ती चितवनदेखि रौतहटसम्म डुल्न थाल्यो। माडीमा महिना दिनभित्रै पाँचजनाको ज्यान लिएपछि धुर्वेलाई मार्न माग गर्दै आन्दोलन सुरु भयो।

ध्रुवेले ०६६ सालमा एकजना, ०६७ मा तीनजना, ०६८ मा एक र ०६९ मा १० गरी १५ जनाको ज्यान लियो। मृत्यु भएकामध्ये छ जना माडीका हुन्। ५० वटा घर भत्काएको छ। उसले टाइगर टप्स होटलको एउटा भाले हात्ती मारेको निकुञ्ज कार्यालयले जानकारी गराएको छ। ०६९ सालको कात्तिकमा माडीमा दुई जनाको ज्यान लिएपछि मंसिरबाट यो हात्तीलाई नियन्त्रणमा लिने प्रयास सुरु भएको थियो।

०६९ साल मंसिर ६ मा हात्तीको अनुगमन गर्न निकुञ्जले दाह्रा काटेर जीपीएससहितको रेडियोकलर जडान गरेको थियो। तर मंसिर मसान्तमा गर्दीमा बोटे दम्पतिको ज्यान लिएपछि पनि हात्तीलाई मार्ने निर्णय भयो। ध्रुवेलाई मार्न पुस २ गतेदेखि टोली परिचालन भयो। तर पुस १५ देखि हात्ती सम्पर्कविहिन भयो। रेडियोकलर माघ २४ गते पर्सा निर्मल बस्तीको जंगलमा फेला परेको थियो।

हात्ती मार्ने निर्णय भएपछि निकुञ्जमा तैनाथ नेपाली सेना पछि लागेको थियो। रेडियोकलरको संकेत स्पष्ट नआउँदा हात्ती हेर्न हेलिकप्टरको समेत सहयोग लिनु परेको थियो। तर हात्ती हरायो। हात्ती नभेटिएपछि धेरैले ध्रुवे मर्‍यो भन्ने ठाने। तर तीन वर्षअघि गैंडा स्थानान्तरण गर्दा ध्रुवेसुखीभार क्षेत्रमा देखा पर्‍यो। झन्डै पाँच वर्ष जंगलभित्रै गायब रहेको ध्रुवेले सुखीभारमा पोथी हात्ती लोकतन्त्रकलीसँग यौन सुख भोग्ने मौका पायो।

त्यसको एक वर्षपछि सुखीभार क्षेत्रमै ध्रुवेले अर्को पोथी हात्ती तिर्थमानकलीसँग रोमान्स गर्‍यो। लोकतन्त्रकलीले गत वर्ष र तिर्थमानकलीले गएको माघमा बच्चा जन्मइसकेका छन्। हात्ती पोस्टमा रहेपनि गर्भवती भएपछि खोरसोरमा नै ल्याएर राखिन्छ। ध्रुवे हात्ती अहिले आफ्नो पुरानो एरिया पश्चिम चितवन छाडेर आफ्ना पहिलेका दुई ‘प्रेमिका’ रहेको खोरसोरमा नै आएको छ।

खोरसोरलाई जंगली भालेकै भर
२०४२ सालमा स्थापना भएको खोरसोर हात्ती प्रजनन् केन्द्रमा हालसम्म ५० भन्दा धेरै छावा जन्मेको केन्द्रका प्रमुख बुधन चौधरीले बताए। प्रजनन् केन्द्रमा पहिला एउटा वीरेन्द्रप्रसाद नामको घरपालुवा भाले हात्ती थियो। उसको संसर्गबाट केन्द्रमा जम्मा दुईवटा मात्रै छावा जन्मेका छन्। नभए निकुञ्जका ढोइ (पोथी हात्ती) जंगली मत्ता (भाले) कै सम्पर्कबाट गर्भवती हुने गरेको चौधरीले जानकारी दिए।

ध्रुवे, रोमियो, नानापाटेकर, रोनाल्डो जस्ता नाम गरेका जंगली भाले हात्तीबाट निकुञ्जमा रहेका घरेलु हात्तीको वंशवृद्धि सम्भव भएको छ। पोथी हात्ती १३ वर्षको भएपछि बच्चा जन्माउन तयार हुन्छ। ५० वर्षसम्म बच्चा जन्माउने गरेको केन्द्रका प्रमुख चौधरीले बताए। भाले हात्ती १८ वर्ष पुगेपछि यौन गतिविधिमा सक्रिय हुन्छ। हात्ती जंगलभित्र गस्ती गर्न आवश्यक हुन्छ। हुर्केका हात्ती यो काममा प्रयोग हुन्छन्।

रोमियो, नानापाटेकर जस्ता हात्तीहरु अहिले छैनन्। रोनाल्डो, ध्रुवे, गोविन्देलगायतका जंगली भाले हात्ती सक्रिय छन्। जंगली भाले हात्ती निकै कम छन्। यी हात्ती कुनै खासखास समयमा देखा पर्दछन्। यी हात्ती देखा पर्दा त्यो समयमा जुन व्यक्तिको नाम चर्चामा हुन्छ, स्थानीय वा हात्तीसारका मान्छेले त्यही नाम राखेर हात्ती चिन्ने गर्दछन्। घरेलु हात्तीको नाम भने निकुञ्ज विभाग र निकुञ्ज कार्यालयले राख्ने गर्दछन्।

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहाका प्रमुख गोपालबहादुर घिमिरेका अनुसार यसपटक सौराहा क्षेत्रमा रोनाल्डो र गोविन्दे त थिए नै ध्रुवेर अर्को एउटा नौलो भाले हात्ती पनि आएका छ। गोविन्दे र रोनाल्डोको खासै लडाइ पर्दैन। तर रोनाल्डोले नयाँ हात्तीलाई देखिसहँदैन। त्यही नौलो भाले हात्तीलाई लखेट्दै रोनाल्डो अहिले खोरसोरभन्दा अलि बाहिर पुगेको छ।

रोनाल्डोले ध्रुवेलाई पनि टिक्न दिँदैन। अघिल्ला वर्षहरुमा पनि ध्रुवेकहिलेकाहीँ खोरसोरमा झुल्कन्थ्यो। तर रोनाल्डोले खेदिहाल्थ्यो। यो पटक रोनाल्डो नयाँ भालेलाई लखेट्न गएका बेलामा ध्रुवेलाई रासलिला पुरा गर्ने अवसर मिल्यो भन्छन् बुधन चौधरी। कुनै बेला मान्छेका लागि आतंकको पर्याय बनेको ध्रुवे हात्ती अहिले खोरसोरमा प्रेमलिलामा मग्न छ। मान्छे भने आँखाले नदेखिने भाइरसको त्रासमा छ। जसलाई खेद्न विश्व लागेको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया