नेपालगञ्ज, वैशाख १ : आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने बाँके राष्ट्रिय निकुञ्ज अहिले सुनासान देखिएको छ । गत आर्थिक वर्ष २०७५-०७६ मा सो निकुञ्जमा आन्तरिक र बाह्य गरी १५० पर्यटक आएको तथ्यांकले देखाउँछ ।
तीमध्ये पनि बाह्य विदेशी पर्यटक आठ मात्र छन् । ‘बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक कम आउने कारणको खोजी गरी आक्रामक रणनीतिक योजना बनाएर काम शुरु गरिएको थियो तर त्यो काम अहिले बन्दाबन्दीले रोकिदिएको छ’, निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले भन्नुभयो ।
पर्यटक बढाउन आगामी आर्थिक वर्षमा निकुञ्जले राष्ट्रिय निकुञ्ज विभागसंँग कार्यक्रमसमेत माग गरेको छ । निकुञ्जभित्र वाटो, पुलपुलेसा, दृश्यावलोकन स्तम्भ, उद्यान र रिसोर्टको पूर्वाधार निर्माण तथा आवास विस्तार कार्यक्रम माग गरिएको छ । ‘माग गरिएका कार्यक्रम स्वीकृत हुने आश्वासन विभागवाट पाएका छौँ’, भट्टराईले बताउनुभयो ।
बाँके राष्ट्रिय निकुञ्ज नेपालगञ्जदेखि २० किलोमिटर टाढा पूर्वपश्चिम राजमार्गको छेउमा अवस्थित छ । राजमार्गको चौबाटो कोहलपुर चोकबाट पूर्व, पश्चिम र उत्तरी क्षेत्रमा अवस्थित पाटेबाघको मुख्य क्रिडास्थलका रुपमा समेत परिचित छ । निकुञ्जको मनमोहक प्राकृतिक छटा, विभिन्नथरिका वन्यजन्तु, नदीनाला र विभिन्न जातिका परम्परागत घरबासले निकुञ्जको शोभा बढाएको छ ।
आठ वर्षअघि स्थापित सो निकुञ्जमा पछिल्लो सर्वेक्षणले पाटेबाघ २१ पुगेको देखिएको छ । केही समयअघि गरिएको क्यामरा ट्रयापिङमा बाघका केही नयाँ अनुहार देखिएकाले यसको सङ्ख्या अभैm बढ्दै गएको आकलन गरिएको छ ।
टीकापुरमा चराको चिरबिर मात्र
लम्की– हरेक नयाँ वर्षमा पर्यटकले भरिभराउ हुने टीकापुर उद्यान यस वर्ष सुनसान छ । बिहान ६ बजेदेखि उद्यान प्रवेशका लागि पर्यटकको लाम हुने उानमा चराचुरुङ्गी कराएको आवाज मात्र सुनिन्छ ।
‘पार्कमा नयाँ वर्षका अवसरमा एकै दिनमा २० हजारसम्म आन्तरिक पर्यटक पिकनिक र घुमघाम गर्न आउंथे । यस वर्ष सुनसान छ’, पार्क इञ्चार्ज अर्जुन कुंँवरले भन्नुभयो, ‘यो सिजन टीकापुर पार्कमा गुलाब ढकमक्क फुल्ने समय हो । गुलाबसंँग रमाउंँदै फोटो खिँच्न रुचाउने पर्यटकलाई यतिखेर पार्कले पर्खिरहेको छ ।’
यस वर्ष कोभिड-१९ संक्रमणको जोखिम बढेपछि चैतदेखि नै उद्यँन सुनसान छ । उद्यानमा फागुनदेखि नै पर्यटक बढ्ने गर्छन् । पर्यटक नआएपछि यस वर्ष राजश्व संकलनमा समेत कमी आएको छ । ‘गत वर्ष नयांँ वर्षका केही दिन दैनिक लाखौंँ राजश्व संकलन हुन्थ्यो’, कुंँवर भन्नुहुन्छ, ‘यस वर्ष पार्क प्रवेश नै बन्द गरेका छौंँ ।’
उद्यान किनारमा कर्णाली नदी रहेकाले यस याममा घुम्नेहरु कर्णालीमा जलयात्राको समेत आनन्द लिन्थे । ‘‘पार्क आउने अधिकांश -याफ्टिङमा रमाउँथे, यस वर्ष सुनसान भएको छ’’, स्थानीयवासी टेकबहादुर बुढा भन्नुहुन्छ, ‘यहांँ त रौनक नै हराएको छ ।’
उद्यानमा दशैँतिहारको समय र नयांँ वर्षमा बढी पर्यटक आउंँछन् । त्यहाँ कैलाली जिल्लासहित बर्दिया, बांँके, कञ्चनपुर, बांके, सुर्खेत, दैलेखसम्मका मानिस वनभोज खान आउने गर्छन् ।
उद्यानमा महेन्द्र आरोग्यगृह र वीरेन्द्र विश्राम बाटिका बनाइएका छन् । यहांँ आउनेले यी घरको अवलोकन गर्दै फोटो खिँच्ने गर्दथे । सुदूरपश्चिममा सबैभन्दा बढी पर्यटक पुग्ने ठाउँ टीकापुर पार्क हो ।
‘‘एकै दिनमा डेढ सयदेखि २० हजारसम्म मानिसहरु पार्क अवलोकन गर्न आउँथे । पार्कमा वर्षेनी एक लाखदेखि डेढ लाखसम्म मानिसहरु आउँथे । यस वर्ष आउन सकेनन् ’’, कुँवरले भन्नुभयो, ‘‘नयाँ वर्षमा पर्यटक सम्हाल्न हम्मेहम्मे हुन्थ्यो तर यस वर्ष सुनसान छ ।’’
टीकापुर विकास समिति हटेपछि २०६४ मङ्सिर ५ गते नगरपालिकाको स्वामित्वमा उद्यान हस्तान्तरण गरिएको हो । टीकापुर बजारदेखि चार किमी टाढा कर्णाली नदी किनारमा रहेको उद्यान ८५ विघा क्षेत्रफलमा फैलिएको छ जसमा बङ्गला क्षेत्र, नर्सरी र बगैंँचाले करीब १३ विघा जमीन ओगटेको छ ।
समितिले नै उद्यान क्षेत्रमा महेन्द्रआरोग्य गृह, रत्नउद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यानलगायत करोडौंँ लागतका पूर्वाधार खडा गरेको हो । शान्त वातावरण, चिटिक्कको चौर र मौसमी-बेमौसमी फूल टीकापुर उद्यानका आकर्षण हुन् ।
मुटु रोगबाट पीडित तत्कालीन राजा महेन्द्र विसं २०२४ मा टीकापुरमा आएर करीब डेढ महिना बसेका थिए । टीकापुर क्षेत्रमा शहर विकास गर्न तथा कर्णाली किनारमा उद्यान बनाउन राजाले निर्देशन दिएको समाजसेवी मोहनबहादुर रावल बताउनुहुन्छ ।
विसं २०२८ मा निर्माण तथा यातायात मन्त्रालयअन्तर्गत समिति स्थापना गरी तीन हजार १७३ बिघा जमीन दिएर शहर विकास गर्ने अधिकार सरकारले दिएको थियो । लाखौंँ लगानी भएको र करोडौंँ खर्च भइसकेका ती पूर्वाधार समिति हटेपछि नगरपालिकाको स्वामित्वमा छन् ।