धनगढी, वैशाख १ : क्वारेन्टाइनमा बसेर घर फर्किएकी कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीकी एक महिलामा कोरोनाको संक्रमण देखिएको छ ।
र्यापिड टेस्टेमा नेगेटिभ देखिएकी ती महिलाको पीसीआरबाट गरिएको परीक्षणमा पोजिटिभ देखिएपछि उनलाई सेती अस्पतालको एम्बुलेन्समा धनगढी पठाइएको लम्कीचुहाका मेयर महादेव बजगाईंले बताए ।
यससँगै सुदूरपश्चिममा संक्रमितको संख्या पाँच पुगेको छ। धनगढीका तीन र कञ्चनपुरका एक संक्रमितको पनि यही अस्पतालमा उपचार भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयस्रोतले पनि कैलालीकी एक महिलामा संक्रमण देखिएको बताएको छ। प्रहरीका अनुसार वीरगन्जमा चिया पसल चलाउने ती महिला लकडाउनअघि कैलाली आइपुगेकी थिइन् ।
उनीसहित १७ जनाको टोलीलाई र्यापिड डाइग्नोस्टिक टेस्टमा नेगेटिभ देखिएपछि लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट आइतबार साँझ घर पठाइएको थियो। तर, सोमबार बिहान उनको रिपाेर्ट पोजिटिभ देखिएको खबर आएको मेयर बजगाईंले बताए ।
‘पोजिटिभको खबर आएपछि बाँकीलाई फेरि क्वारेन्टाइनमा ल्याइएको छ। कसैमा पनि लक्षण देखिएको छैन। अरूको पनि पीसीआर परीक्षणको नतिजा पर्खिइरहेका छौं,’ मेयर बजगाईंलाई उद्धृत गर्दै कान्तिपुरले जनाएको छ ।
यापिड टेष्टमा नेगेटिभ, पीसीआर टेष्टमा पोजेटिभ
र्यापिड टेष्टमा नेगेटिभ आएपछि घर पठाइएकी कैलाली, लम्किचुहाकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनी वीरगञ्ज नाकामा चिया बेच्थिन् । लकडाउनका कारण समस्यामा परेकाहरू उनीसहित १७ जनालाई स्थानीय प्रशासनले उद्दार गरेर चैत १७ मा मात्र कैलालीको लम्की पठाएको थियो ।
उनीहरूलाई स्थानीय जनप्रतिनिधिले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेका थिए । ‘हामी नेपालबाटै आएका हौं, घरमै बस्छौं भनेका थिए । हामीले हुँदैन भनेर क्वारेन्टाइनमा राखेका थियौं,’ लम्किचुहाका मेयर महादेव बजगाईंले भनेका छन् ।
क्वारेन्टाइनमा बसेकाहरुको र्यापिड टेष्ट किटबाट परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई २८ चैतमा घर पठाइयो । उनी पनि भुरूवास्थित आफन्त कहाँ गएकी थिइन् ।
तर पीसीआर बिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । अब उनीहरु सबैलाई फेरि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ । कोरोना संक्रमण देखिएन भनेर घर पठाइएको व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको कैलालीको यो दोस्रो घटना हो ।
यसअघि चौथो संक्रमितको आफन्तलाई पनि सुरुमा क्वारेन्टाइनमा राखेर कोरोनाको लक्षण नदेखिएको भन्दै घर पठाइएको थियो । तर पछि परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको अनलाइन खबरमा उल्लेख छ ।