काठमाडौँ, चैत ३० : वर्ष २०७६ नेपाली खेलकुदका लागि स्वर्ण समयभन्दा फरक पर्दैन । नीति र नतिजाका हिसाबमा यो वर्ष नेपालले राम्रै उपलब्धि हासिल गरेको छ । बितेका १२ महिना नियमित प्रशिक्षण, प्रतियोगिता र सकारात्मक नतिजाले खेलकुदमय वर्षको रूपमा रह्यो ।
वर्षको सुरुमै आठौं राष्ट्रिय खेलकुदसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) तथा अन्य केही अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपाली खेलाडीहरू वर्षभर नै व्यस्त रहे। सागमा नतिजाको हिसाबमा नेपालले अहिलेसम्मकै ठूलो सफलता हासिल गर्यो। पूर्वाधार र नीतिमा पनि धेरै सुधार भयो। यस वर्ष खेलकुदको नियमक निकाय राष्ट्रिय खेलकुद परिषद्ले नयाँ नेतृत्व पनि पायो ।
१३ औं सागको सफल आयोजना
निर्धारित मितिभन्दा एक वर्ष ढिला गरी भए पनि नेपालले १३ औं सागको सफल आयोजना गरेको छ। सार्क क्षेत्रका ७ देशका करिब ११ हजार खेलाडी र खेल अधिकारीहरुलाई आतिथ्यता दिँदै मंसिर १५ देखि २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा सागको आयोजना भएको थियो ।
नेपालकै परिकल्पनामा सन् १९८४ मा सुरु गरिएको साफ (हाल साग) नेपालले तेस्रोपल्ट आयोजना गरेको हो। २७ खेलको स्पर्धामा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य गरी कुल २ सय ६ पदक जितेको थियो ।
सागकै लागि भए पनि मुख्य पूर्वाधार निर्माण भयो। भूकम्पले थलिएको दशरथ रंगशालाको निर्माण कार्य साग सुरु हुनु केही दिनअघि सम्पन्न भयो। हतारमा काम भएको परिणामस्वरुप आधुनिक फ्याब्रिक प्रविधिको प्रयोग गरी हालिएको रंगशालाको भीआईपी प्यारापिटको छानोबाट पानी चुहिएको छ। नेपालमै पहिलोपल्ट वातानुकूलित प्रविधिको पौडीपोखरी निर्माण भयो। कराते हल, सुटिङ रेन्ज, टेनिस कोर्टले पूर्णता पायो ।
अत्याधुनिक स्क्वास कोर्ट निर्माण भयो। निर्माणाधीन पोखरा रंगशालामा महिला फुटबलको खेल भएको थियो। पोखरा रंगशाला केही दिनअघिमात्र निर्माण सम्पन्न भएको छ। यसले भविष्यमा ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नका लागि पूर्वाधारको समस्या टरेको छ ।
यसपल्टको सागमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन रह्यो। ६ महिनाको तयारीमा नेपालले लक्ष्यअनुसार सफलता पाएको थियो। राष्ट्रिय खेलकुद परिषद्ले ५० भन्दा बढी स्वर्ण जित्ने प्रक्षेपण गरेको थियो। प्रतियोगिताको अन्तिम दिन फुटबल टोलीले उपाधि रक्षा गरेसँगै नेपालको स्वर्णसंख्या ५१ पुगेको हो। मुख्य हतियारको रूपमा रहेको मार्सल आर्टबाट नेपालले सबैभन्दा धेरै सफलता पायो ।
नेपालले जितेको ५१ मध्ये ३२ स्वर्ण मार्सल आर्टबाट थियो। तेक्वान्दोले १२ र करातेले १० स्वर्ण जितेका थिए। करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले दोहोरो स्वर्ण जिते। विधा परिवर्तन गरी पुम्सेमा खेलेकी आयशाले दुई स्वर्णसहित साग इतिहासमा आफ्नो स्वर्णसंख्या तीन पुर्याएकी हुन्। सन् २०१० मा बंगलादेशमा सम्पन्न ११ औं सागमा उनले ग्यारोगीतर्फ स्वर्ण जितेकी थिइन् ।
नेपाली पौडीमा गौरिका सिंहले कीर्तिमान बनाइन्। सागमा पौडीको व्यक्तिगत स्पर्धामा पहिलो स्वर्णको इतिहाससहित गौरिकाले ४ स्वर्ण, २ रजत र ३ काँस्य जितिन्। सागको ३५ वर्षे इतिहासमा एथलेटिक्सतर्फ सन्तोषी श्रेष्ठले महिलातर्फ पहिलो स्वर्ण दिलाइन् ।
उनले १० हजार मिटर दौडमा स्वर्ण जितिन्। महिला भलिबल टोलीले जितेको रजत पदक पनि अहिलेसम्मकै ठूलो हो। फाइनलमा भारतविरुद्ध ३–२ को सेटमा पराजित भएपछि नेपाल स्वर्णबाट चुकेको थियो। नेपालले भारतसँग सेट जितेको यो पहिलोपल्ट हो। कुस्तीकी संगीता धामीले स्वर्ण जितेर अर्को इतिहास बनाइन् ।
सागमा पदक विजेता खेलाडीलाई सरकारले प्रतियोगिता सकिएको भोलिपल्टै पुरस्कारको घोषणा गरेको थियो। त्यो अहिलेसम्म कार्यान्वयन भएको छैन। त्यस्तै प्रतियोगिता सकिएको ५ महिना बितिसक्दा पनि आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको छैन। सागमा ५ अर्ब बजेट अनुमान गरिएको थियो ।
आठौं राष्ट्रिय खेलकुद
२०७५ साल अन्त्यमा केही खेल सुरु भए पनि २०७६ वैशाख ५ देखि ११ सम्म प्रदेश ५ का विभिन्न जिल्लामा राष्ट्रिय खेलकुदको आठौं संस्करण आयोजना भएको थियो। हरेक दुई वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुद लामो समयपछि निर्धारित समयमै आयोजना गरिएको हो ।
सागको तयारीका रूपमा आयोजित प्रतियोगिता पूर्वाधारको तयारीबिनै हतारमा आयोजना गरिएको आरोप लागे पनि आयोजनाका हिसाबमा सफल मानिन्छ। कुल २ सय ७३ स्वर्णका लागि आयोजित प्रतियोगितामा ३५ खेल समावेश थिए। १ सय ४० स्वर्णसहित त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको थियो ।
बृहत खेलकुदका लागि प्रदेश ५ मा करिब १ अर्ब लागतमा पूर्वाधारहरू निर्माण भए। यसले भविष्यमा हुने ठूला प्रतियोगिताका आयोजनाका लागि उक्त प्रदेशलाई सहज हुनेछ। तर खेल गतिविधि कम हुने क्षेत्रमा बनेका पूर्वाधारको उपयोग र संरक्षणको चिन्ता पनि उत्तिकै छ ।
महिला भलिबलको छलाङ
२०७६ साल नेपालको महिला भलिबलका लागि स्वर्ण समय रह्यो। कात्तिक बंगलादेशमा आयोजित एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबलमा नेपालले स्वर्ण जित्यो। यो उपाधि नेपालका लागि किन महत्त्वपूर्ण रह्यो भने नेपाली टोलीले अहिलेसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेताको स्वाद चाख्न पाएको थिएन। लामो समय राष्ट्रिय टोलीमा योगदान दिएका चार सिनियर खेलाडीलाई टिमबाट निकालेर युवालाई अवसर दिएको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै नेपालले उपाधि जित्यो ।
महिला टोलीले १३ औं सागमा पनि सानदार प्रदर्शन गरेको थियो। सेमिफाइनलमा श्रीलंकालाई पराजित गरी ऐतिहासिक फाइनल यात्रा तय गरेको नेपालले भारतसँग पराजित हुनुपरे पनि दुई सेट जितेर अर्को इतिहास बनायो। यसअघि भारतसँग नेपालले सेट जित्न सकेको थिएन। सन् १९९९ को आठौं, २००६ को दसौं र २०१६ को १२ औं सागमा नेपाली टोली कास्यमै सीमित थियो ।
महिला टोलीको सफलताको ठीक विपरीत पुरुष टोली भने झनै कमजोर देखियो। एभीसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबलको पाँचौं संस्करण भदौमा नेपालमै आयोजना भयो। तर घरेलु टोलीको प्रदर्शन भने बिर्सनलायक रह्यो। ६ टोलीसम्मिलित प्रतियोगितामा नेपाल पाँचौं भयो। उपाधि किर्गिस्तानले जित्यो। नेपालले अफगानिस्तानलाई मात्र हराउन सक्यो। १३ औं सागमा पनि नेपालले समूह चरण पार गर्न सकेन ।
प्रिन्सको उपलब्धि
ब्याडमिन्टनमा नेपालको अन्तर्राष्ट्रिय उपलब्धि उल्लेखनीय छैन। किशोरा खेलाडी प्रिन्स दाहालले केही सम्भावना देखाएका छन्। प्रिन्स ब्याडमिन्टन जुनियर विश्व वरीयताको सातौं स्थानमा छन्। यो नेपाली खेलाडीले हासिल गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो। गत महिना नेदरल्यान्ड्स र जर्मनीमा सम्पन्न जुनियर इन्टरनेसनल सिरिजमा प्रि क्वाटरफाइनलको यात्रा तय गरेपछि उनले विश्व वरीयतामा शीर्ष ७ को यात्रा तय गरेका हुन् ।
भदौमा सम्पन्न दुबई जुनियर इन्टरनेसनल च्यालेन्जको उपाधि विजेता प्रिन्स पुसमा नेपालमै सम्पन्न राष्ट्रपति कप नेपाल जुनियर इन्टरनेसनल सिरिजको फाइनलमा पराजित भएका थिए। प्रिन्सले वर्ष २०७६ मा नौवटा जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।
वैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदको टिम इभेन्टमा उनले नेपाल नम्बर एक रत्नजित तामाङलाई पराजित गरी सनसनी मच्चाएका थिए। १३ औं सागमा उनले टिम र युगलमा गरी दुई विधामा कांस्य पदक जिते ।
खेलकुद विधेयक पारित
देशमा संघीयता लागू भएको चार वर्ष पूरा भइसकेको छ। तर खेलकुदका संरचना पुरानै ऐनअनुसार चल्दै आएको थियो। संघीय संरचनाअनुसार २०४८ सालमा बनेको खेलकुद ऐनलाई प्रतिस्थापन गर्ने गरी ल्याइएको खेलकुद विधेयक संसद्को दुवै सदनबाट पारित भएको छ। पहिलोपल्ट २०७५ फागुनमा राष्ट्रियसभामा पेश भएको यो विधेयक करिब एक वर्षको बीचमा दुवै सदनबाट पर्याप्त संशोधनसहित पारित भएको हो। अब राष्ट्रपतिबाट प्रमाणीकरण हुने चरणमा छ ।
संघीयतापछि विकेन्द्रीकरणको सिद्धान्तअनुसार खेलकुद संरचनालाई ऐनले आफ्नो क्षेत्राधिकारमा समावेश गरेको दाबी गरिएको छ। २०७६ साउन १६ मा राष्ट्रियसभाबाट पारित भएपछि पुनः छलफलका लागि भदौ १ गते प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा प्रस्तुत गरिएको थियो ।
राष्ट्रिय सभाबाट पारित भएको विधयेकमा दर्जनभन्दा बढी संशोधन भएका छन्। राखेप बोर्ड सदस्यसंख्यालाई कटौती गरिएको छ। यसअघि ४२ सदस्यीय हुने प्रस्ताव भएकोमा घटेर ३७ सदस्यीय हुनेछ। राखेपको बोर्ड बैठक बस्न नसकेको अवस्थामा महत्त्वपूर्ण निर्णयका लागि सदस्य-सचिवको संयोजकत्वमा ७ सदस्यीय कार्यकारिणी समिति रहने व्यवस्था ऐनमै उल्लेख छ। यसअघि यस्तो अवस्थामा सदस्य–सचिवको एकल निर्णय हुने गरेको थियो ।
संशोधित विधेयकमा राखेप सदस्य–सचिव नियुक्तिका लागि खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा कम्तीमा एक महिलासहित दुईजना विज्ञलाई मन्त्रीले छनोट गर्न सक्नेछन्। स्नातक तह उत्तीर्ण भएको, खेलकुद क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव र ३० वर्ष पूरा भएको व्यक्ति सदस्य-सचिवका लागि योग्य हुने गरी न्युनतम योग्यताको मापदण्ड ऐनमै तोकिएको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।
नयाँ ऐन बन्ने प्रक्रियामा रहेको भन्दै राखेपले देशभरका आफ्ना क्षेत्रीय कमिटीमा नेतृत्व नियुक्त गरेको छैन। ऐन बनेपछि सबै प्रदेशका खेलकुद कमिटीले पूर्णता पाउनेछ ।