मन्ट्रियल, क्यानाडा, चैत ३० : क्यानाडाको संसदले शनिबार दोस्रो विश्वयुद्धपछि देशको सबैभन्दा ठूलो आर्थिक उपायका रुपमा एक ज्याला (वेतन) अनुदान कार्यक्रम पारित गरेको छ । व्यवसाय र उनीहरूका कामदारलाई कोरोनाभाइरस संकटबाट जोगिन उक्त कार्यक्रमले मद्दत गर्ने क्यानाडा सरकारले विश्वास गरेको छ ।
क्यानाडाको संसद हाल स्थगित छ, तर इस्टर सप्ताहन्तको मध्यमा बसेको संसदको असाधारण सत्रले करिब ५२ अर्ब अमेरिकी डलरको कार्यक्रम स्वीकृत गरेको छ । कर्मचारी कटौतीको समस्या समाधान गर्न कम्पनीमा कार्यरत कर्मचारीको तलबको ७५ प्रतिशत रकम सरकारले व्यहोर्नेछ ।
प्रधानमन्त्री जस्टिन ट्रुडो उक्त कार्यक्रम पारित गर्ने संसद अधिवेशनमा भाग लिनु भएको थियो । आफ्नी पत्नीलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री जस्टिन एक महिनाका लागि घरमा नै एकान्तबासमा हुनुहुन्थ्यो ।
प्रधानमन्त्री जस्टिनले कोरोना महामारीका कारण “फ्रन्टलाइन” जताततै देखिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “अहिले यो फ्रन्टलाइन हाम्रो घरमा, हाम्रा अस्पतालहरूमा र सेवा केन्द्रहरूमा, हाम्रा किराना पसलहरूमा र औषधि पसलहरुमा, हाम्रा यातायातका साधन रोक्ने ठाउँहरुमा र ग्यास स्टेशनहरूमा छ ।”
“यी स्थानहरूमा काम गर्ने मानिसहरू हाम्रो आधुनिक दिनका नायकहरू हुन्” उहाँले भन्नुभयो ।
कोरोना संकट उत्पन्न भएयता यो दोस्रो आर्थिक सहयोग विधेयक हो । पछिल्लो विधेयकको मुख्य उद्देश्य नै “क्यानाडालीहरुलाई आफ्नो जागिर जोगाइ राख्न र तलब पाउने सुनिश्चित गराउनु हो,” प्रधानमन्त्रीले भन्नुभयो, “यो दोस्रो विश्वयुद्धपछि क्यानाडाको सबैभन्दा ठूलो आर्थिक प्याकेज हो ।”
अर्थमन्त्री बिल मोरेनोले यो तलबी आर्थिक प्याकेज तीन महिनाका लागि रहेको बताउनुभयो । क्यानाडामा गत महिना १० लाखभन्दा बढी रोजगारी गुमेको थियो ।
क्यानाडामा शनिबारसम्ममा २३ हजार १९७ जना कोरोना संक्रमित रहनुका साथै ६७८ जनाको ज्यान गएको छ ।