काठमाडौँ, चैत २७ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज साँझ भिडियो कन्फरेन्समार्फत विभिन्न विश्वविद्यालयका उपकुलपतिसँग हालको कोरोना भाइरस रोकथाम र नियन्त्रणको स्थितिमा कसरी अनलाइन प्रणालीमा शिक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल गर्नुभएको छ ।
मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय र खुल्ला विश्वविद्यालयका उपकुलपतिसँग सो संवाद गर्नुभएको हो ।
मन्त्री पोखरेलले विषम स्थितिमा हाल विश्वविद्यालयले गरिरहेको काम र भावी दिनको तयारीबारे जानकारी लिई सूचना प्रविधिका माध्यमबाट भर्चुअल कक्षा सञ्चालनका लागि पनि तयार रहन निर्देशन दिनुभएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले बताउनुभयो ।