बैतडी, चैत २७ : कोरोना भाइरसको तीब्र परीक्षण गर्न क्वारेन्टाइनमा रहेका बैतडीका ४२५ जनाको स्वाब सङ्कलन गरेर हेलिकोप्टरमार्फत धनगढी पठाईएको छ । सङ्घीय सरकारले कोरोना भाइरसको सङक्रमण रोक्न सुदूरपश्चिम प्रदेशमा ल्याब स्थापना गरेर क्वारेन्टाइनमा रहेका सबैको स्वाब सङ्कलन गरेर तिब्र परीक्षणका लागि हेलिकोप्टर परिचालन गरेको हो ।
पहिलो चरणमा बिहीबार बैतडीको पुरचौडी नगरपालिकाका–१ हाटबाट २५९ वडा नं. ५ कुवाकोटबाट ११३ वडा नं. ३ नकालीबाट ७१ र शिवनाथ गाउँपालिका, मेलौली नगरपालिकाका र पञ्चेश्वर गाउँपालिका–३, कुलाउबाट ८२ जनाको स्वाब लिएर परीक्षणका लागि हेलिकोप्टरमार्फत धनगढी पठाईएको कोभिड–१९ सङ्कट व्यवस्थापन जिल्ला स्तरीय समितिले जानकारी दिएको छ ।
जिल्लाभरिका क्वारेन्टाइनमा ५१३ जना मध्ये पहिलो चरणमा ४२५ जनाको स्वाब सङ्कलन भएको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका अध्यक्ष एवं बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो ।
प्रजिअ पौडेलले भन्नुभयो, “ पहिलो चरणमा भारतलगायतका देशबाट आएर क्वारेन्टाइनमा बसेका ४२५ जनाको स्वाब लिईएको छ । दोश्रो चरणमा पाटन नगरपालिका, सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका र दशरथ चन्द नगरपालिकाका लागि सुर्नया गाउँपालिकाको सिँउडेमा हेलिकोप्टर आउने कार्यक्रम रहेको छ ।
त्यसैगरी, तेश्रो चरणमा सिगास गाउँपालिकाको शिवलिङमा क्वारेन्टाइनमा रहेकाको स्वाब लिन हेलिकोप्टर आउने तालिका रहेको छ ।” बैतडीका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा ५१३ जना रहेका छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ३१ जना १४ दिन क्वारेन्टाइनमा बसेर घर गएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
क्वारेन्टाइनमा रहेकाहरुको स्वाब सङ्कलन गरेर परीक्षणका लागि बिहीबार नै धनगढी लगिएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।
डडेल्धुराबाट १९० को स्वाब परीक्षणका लागि पठाइयो
डडेल्धुरामा स्थानीय तहले बनाएका विभिन्न क्वारेन्टाइनमा रहेका एवं कोभिड–१९ को लक्षण देखा परेकाको परीक्षणका लागि ‘थ्रोट स्वाब’ सङ्कलन गरिएको छ । आज बिहान हेलिकप्टरमार्फत स्वाब सङ्कलन गरिने उपकरण (भिटिएम)डडेल्धुरा ल्याइएपछि स्वाब सङ्कलन गरी परीक्षणका लागि धनगढी हुँदै काठमाडौँ पठाइएको हो ।
डडेल्धुराका तीन स्थानबाट स्वाब सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो । दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तह रहेको डडेल्धुरामा भारतलगायत अन्य मुलुकबाट आएका १९० जनाको स्वाब सङ्कलन गरिएको उहाँले बताउनुभयो ।
भारतलगायत अन्य मुलुकबाट भित्रिने स्थानीयको सङ्ख्या तीन हजार बढी छ । तर स्थानीय सरकारले बनाएका क्वारेन्टाइनमा भने १०७ जना बसेका छन् । जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–५ मा रहेको डडेल्धुरा बहुमुखी क्याम्पस, भित्रिमधेश जोगबुडास्थित पर्शुराम नगरपालिका–१२ मा रहेको त्रिवेणी बहुमुखी क्याम्पस र पर्शुराम नगरपालिका–७ सादनीको शिवशङ्कर माविमा बनाइएका क्वारेन्टाइनमा बसेकाको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो ।
अमरगढी नगरपालिका, अजयमेरु, नवदुर्गा, भागेश्वर र गन्यापधुरा गाउँपालिकाको क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा बसेकाको जिल्ला सदरमुकामको डडेल्धुरा बहुमुखी क्याम्पसबाट नमूना सङ्कलन कार्य जारी रहेको छ । स्वाब सङ्कलनका लागि केन्द्रबाट १९० थान भिटिएम हेलिकप्टरमार्फत डडेल्धुरा पु¥याइएपछि सङ्कलन कार्य शुरु भएको थियो । सङ्कलित नमूना आज नै धनगढी हुँदै काठमाडौँ पठाइएको छ ।