लन्डन, चैत २७ : प्रा. सूर्यप्रसाद सुवेदीलाई बेलायतको प्रतिष्ठित हल विश्वविद्यालयले प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गर्ने निर्णय गरेको छ । उनले प्राज्ञिक क्षेत्र र खासगरी अन्तर्राष्ट्रिय कानुन र मानव अधिकार कानुनको विकासमा दिएको योगदानको कदर गर्दै मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त विश्वविद्यालयका उपकुलपतिबाट सोसम्बन्धी पत्र पाउँदा आफू हर्षित भएको प्रा. सुवेदीले बताए। सुवेदीले उक्त विश्वविद्यालयबाट करिब ३० वर्षअघि विशिष्ट श्रेणीमा प्रथम भई अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तर गरेका थिए। त्यसपछि उनले अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गरे। गत वर्ष उनलाई अक्सफोर्ड विश्वविद्यालयले पनि महाविद्यावारिधि उपाधि प्रदान गरेको थियो। यसवर्ष अक्सफोर्डले सुवेदीको नाममा स्नातक तह र विद्यावारिधि गरि दुईवटा वार्षिक पुरस्कार स्थापना गरेको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।
बेलायतका दुई प्रतिष्ठित विश्वविद्यालयबाट दुईवटा महाविद्यावारिधि पाउने व्यक्ति बेलायतमै विरलै छन्। लमजुङबाट नेपाल ल क्याम्पस हुँदै बेलायतको अक्सफोर्ड र हल विश्वविद्यालयमा अध्ययन गरेका प्रा. सुवेदीले संसारका ५ वटा देशका सातवटा विश्वविद्यालयमा प्राध्यापन गरेका छन्। उनले नेपाल र बेलायत सरकारका अतिरिक्त अन्य देशलाई पनि कानुनी सल्लाह दिएका छन् ।