काठमाडौँ, चैत २७ : कोरोना विषाणुको सम्भावित सङ्क्रमण रोक्न दुई साताअघि सुरु भएको बन्दाबन्दीपछि वाणिज्य बैङ्कले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै आएका छन् । बैङ्क सेवा दिन विगतमा जस्तो कार्यालय खोलेर बस्न नसक्ने, ग्राहकले पनि सेवा लिन बैङ्कसम्म पुग्न नसक्ने हालको अवस्थामा मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, कनेक्ट आईपीएस जस्ता सेवामा जोड दिँदै आएका छन् ।
नगद कारोबारको सट्टा कार्ड प्रयोगमा विभिन्न छुटको घोषणा गरेर ग्राहकलाई प्रोत्साहन गरिरहेका छन् । यतिबेला बैङ्कले जुनसुकै बैङ्कको एटीएमबाट रकम निकाल्न पनि सकिने सुविधा पनि निःशुल्क रूपमा उपलब्ध गराइरहेका छन् । बैङ्कले डिजिटल हेल्प डेक्स राखेर नै पुराना तथा नयाँ ग्राहकलाई विद्युतीय कारोबारमा सहयोग पु¥याउँदै आएका छन् ।
बन्दाबन्दी अघिको तुलनामा यस्ता सेवा लिनेको सङ्ख्या बढिरहेको दाबी बैङ्कको छ । एनआईसी एसिया बैङ्कका डिजिटल मार्केटिङ प्रमुख विनय खड्काले आफ्नो बैङ्कमा बन्दाबन्दीपछि मोबाइल बैङ्किङ २५ देखि ३० प्रतिशतसम्म बढेको बताउनुभयो । त्यस्तै दैनिक एक सय जनाभन्दा बढीले अनलाइन मार्फत खाता खोल्न थालेको पनि उहाँले बताउनुभयो ।
त्यस्तै राष्ट्रिय वाणिज्य बैङ्कमा पनि मोबाइल बैङ्किङ सेवा लिनेको सङ्ख्या बढेको आईटी एन्ड इलेक्ट्रोनिक प्रमुख रिको स्थापित बताउनुहुन्छ । उहाँले बन्दाबन्दीपछि मोबाइल बैङ्किङबाट कारोबार बढेकोे बताउनुभयो । हाल ३० हजारभन्दा बढीले मोबाइल बैङ्किङ सेवा लिएको उहाँले बताउनुभयो । उहाँले मोबाइल बैङ्किङ सेवा लिइरहेका ग्राहकलाई कनेक्ट आईपीएसका लागि पनि प्रयास गरिरहेको बताउनुभयो ।
सुरक्षामा चुनौती
यसरी बैङ्कले नयाँ प्रविधि र शैली अपनाउँदै जाँदा ग्राहकको खाता सुरक्षामा चुनौती पनि थपिएको छ । गलत प्रवृत्तिका मानिसले विभिन्न सामाजिक सञ्जाल, इमेल, फोन कल वा एसएमएस मार्फत सम्पर्कमा आएर बैङ्क खातासम्म पुग्न सक्नेबारे बैङ्कले सचेत पनि गराउन थालेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैङ्क नेपालले आफ्ना खातावाललाई इमेल पठाएर त्यसबारे सचेत गराउन थालेको छ ।
आपराधिक प्रवृत्तिका व्यक्तिले खातावालको वान् टाइम पासवर्ड (ओटीपी), पासवर्ड डेबिड र क्रेडिट कार्ड नम्बर वा पिन वा व्यक्तिगत वा बैङ्किङ सूचना माग्न सक्ने जनाइएको छ । त्यस्तो अवस्थामा सम्पर्क गर्ने व्यक्ति सम्बन्धित बैङ्कको आधिकारिक व्यक्ति हो होइन भनी पत्ता लगाउनु आवश्यक हुन्छ ।
त्यस्तै अपरिचित स्रोत, इमेल वा एसएमएसबाट आएका लिङ्क नखोल्न पनि बैङ्कले सुझाएका छन् । यसो गर्दा गलत व्यक्तिले व्यक्तिगत वा वित्तीय सूचनामा पहुँच राख्न सक्छन् । त्यस्तै यतिबेला अनलाइन मार्फत किनमेल गर्ने प्रवृत्तिमा पनि क्रमशः विकास भइरहेको छ । यस्तो अवस्थाले गर्दा आधिकारिक बिक्रेता वा संस्थाबाट मात्र किनमेल गर्नुपर्ने हुन्छ । त्यस्तै आफूलाई प्राप्त भएका इमेल सही हुन् होइनन् भनेर पनि ध्यान दिन बैङ्कले सुझाएका छन् । मेलमा सामान्य झुक्याउने किसिमका सामग्री हुनसक्ने बैङ्कले सचेत गराएका छन् ।
नयाँ अवसरसँगै यस्ता चुनौती पनि आउने एनआईसी बैङ्कका डिजिटल मार्केटिङ प्रमुख खड्का नयाँ विद्युतीय सेवा लिनेको दर्ता गर्दा हस्तलिखित आवेदन लिएर हस्ताक्षर प्रमाणित गर्ने गरिएको बताउनुहुन्छ । त्यस्तै सम्बन्धित व्यक्तिले एटीएम वा चेकबुकको फोटोकपी माग्ने जस्तो विविध सुरक्षित उपाय अपनाउन थालिएको उहाँको भनाइ छ ।
नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्क अनुसार क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थासँग करिब तीन करोड ११ लाख २१ हजार खाता छन् । तीमध्ये मोबाइल बैङ्किङ सेवा लिने करिब ९८ लाख, इन्टरनेट बैङ्किङ सेवा लिने करिब नौ लाख ६९ हजार र डेबिट कार्ड लिने ७२ लाख १५ हजार मात्र छन् ।