काठमाडौं, चैत २५ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान सङ्कटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव ढङ्गले सघाउने निर्णय गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीका पदाधिकारी, प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक र राष्ट्रियसभाका प्रतिपक्षी नेतासमेत सहभागी आजको बैठकले कोरोना भाइरसको जोखिम सामना गर्न हालसम्म गरिएका तयारीको समीक्षा गरेको छ ।
समय पर्याप्त पाएर पनि आवश्यक तयारी नगरिनुलाई दुःखद्रूपमा लिँदै बैठकले कोरोनाको सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको स्थितिलाई गम्भीरतापूर्वक लिएर परीक्षणको दायरा तत्काल व्यापकरुपले बढाएर युद्धस्तरमा कार्य गर्न सरकारलाई अपिल गरेको छ । स्वास्थ्यकर्मीको उच्च मानवीय भावना र समर्पणले कोरोनाविरुद्धको सङ्घर्षमा सफलता मिल्ने विश्वास साथ बैठकले देशभरिका स्वास्थकर्र्मीप्रति उच्च सम्मान प्रकट गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।
व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), परीक्षण कीट र भेन्टिलेटरलगायत अत्यावश्यक सामग्री अझैसम्म नपुग्दा परेको मनोवैज्ञानिक तनाव तत्काल अन्त्य गर्न यथाशीघ्र ती सामग्रीको बन्दोबस्त गर्न बैठकले सरकारलाई अपिल गरेको छ । बैठकले अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी एवं निरन्तर सुसूचित गरिरहेका सञ्चारकर्मीलाई सङ्क्रमणको जोखिमबाट सुरक्षित राख्ने अत्यावश्यक प्रबन्ध मिलाउन पनि सरकारसँग माग गरेको उहाँले जानकारी दिनुभयो ।
लकडाउन पालना गर्दै संयम, एकता र उच्च सतर्कता राख्न बैठकले सबै नेपालीमा अपिल गरेको छ । स्वास्थ्य सामग्री खरिदमा बजार मूल्यभन्दा बढी रकम निकासा गराएर गरिएको भ्रष्टाचार र अनियमिततामा संलग्नलाई पदमुक्त गर्न अपिल गर्दै बैठकले अनिवार्य छानबिन र कारवाहीको विषयमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । देशबाहिर अप्ठ्यारोमा परेर घर फर्कन चाहेका र सिमानामै आइपुगेर प्रवेश चाहिरहेका नेपालीलाई व्यवस्थितरुपले क्वारेन्टाइनमा राख्ने तयारी गरेर देश भित्रिन दिने व्यवस्था मिलाउन बैठकले सरकारसमक्ष माग गरेको छ ।
यसैगरी धेरै ज्यालादारी श्रमिकमाझ अझै राहत नपुग्दा जीवन कष्टकर बनेको सरकारको ध्यानाकर्षण गराउँदै बैठकले बेरोजगार र शहरी क्षेत्रमा डेरा गरी बसेका विद्यार्थीका लागि पनि तत्काल राहत घोषणा गर्न माग गरेको छ । सानाठूला सबै व्यवसायीको व्यवसायमा लकडाउनले पु¥याएको असर दृष्टिगत गरेर थप राहतको प्याकेज व्यावहारिक ढङ्गले ल्याउन बैठकले माग गरेको उहाँले बताउनुभयो ।
लकडाउनले गर्दा कृषि क्षेत्र र किसानलाई परेको मर्कामा आवश्यक राहत घोषणा गर्न तथा अत्यावश्यक खाद्यान्नको आपूर्तिदेखि उत्पादनसम्मको व्यवस्थालाई जोखिममुक्त ढङ्गले सहजीकरण गर्न÷गराउन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले आ–आफ्नो प्रदेशमा विशेष समन्वयको भूमिका बढाउन प्रदेश सरकारलाई एवं वडा र टोलसम्म जनसम्पर्कमा पुगेर नागरिकलाई सहयोग पु¥याउन स्थानीय सरकारलाई अपिल गरेको छ ।
त्यस्तै विदेशमा रहेका सबै नेपालीको स्थितिप्रति चिन्ता व्यक्त गर्दै बैठकले विशेष ध्यान पु¥याउन सरकारलाई आग्रह गरेको छ । संयुक्त अधिराज्य बेलायत र संयुक्तराज्य अमेरिकामा कोरोना सङ्क्रमणले मृत्यु भएका नेपालीको परिवारजनप्रति समवेदना व्यक्त गर्दै बैठकले नेपाली डायस्पोरालाई आपसी एकता र भाइचाराको भावनाले आजको सङ्कट सामना गर्न अपिल गरेको छ ।
प्रतिकूल स्थितिमा एकता र सतर्कताका साथ मानवीय सेवाको उच्च भावनाले निरन्तर कार्य गर्न बैठकले देशभरिका पार्टी सदस्य र शुभचिन्तक एवं विदेशस्थित नेपाली जनसम्पर्क समितिका सदस्यलाई अपिल गर्दै कोरोनाको जोखिमसँग जुध्न एक विज्ञ समूह निर्माण गरेर निरन्तर समूहको परामर्शमा कार्य गर्ने निर्णय गरेको छ । साथै बैठकले पार्टीका सबै केन्द्रीय सदस्य, सङ्घीय र प्रदेश सांसद एवं सबै तहको नेतृत्वलाई आफ्नो जिम्मेवारीको क्षेत्रमा विशेषरुपले कार्य गर्न निर्देशनसमेत गरेको छ ।