काठमाडौं, चैत २५ : राष्ट्रिय परीक्षा बोर्डले यही बैशाख ८ गतेबाट सञ्चालन गर्ने भनिएको कक्षा १२ को र २१ गतेदेखि गर्ने तय भएको कक्षा ११ परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ । मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस संक्रमणका कारण देश बन्दाबन्दीमा रहेकोले तत्कालका निम्ति निर्धारित परीक्षा तालिका स्थगित गर्ने निर्णय भएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताउनुभयो । ‘अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको छ,” पौडेलले भन्नुभयो, “सरकारले बन्दाबन्दी खोलेपछि मात्र अर्को सूचना जारी हुनेछ ।”
परीक्षाको नयाँ तालिका अवस्थामा सुधार भएलगत्तै सार्वजनिक गर्ने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ । बोर्डले परीक्षा स्थगित गरिएको जानकारी दिँदै प्रदेश परीक्षा व्यवस्थापन कार्यालय तथा शाखा कार्यालयहरुलाई सोहीअनुसार गर्न निर्देश गरेको छ ।
कोरोना भाइरस संक्रमणका कारण चैत ६ गतेबाट हुने एसईई रोकिएको छ । बोर्डले आगामी वैशाख ८ गतेबाट कक्षा १२ र वैशाख २१ गतेबाट कक्षा ११ को परीक्षा तालिका तोकेको थियो । कक्षा ११ र १२ मा करिब ९ लाख ६२ हजार परीक्षार्थी रहेका छन् । ४ लाख ६२ हजार विद्यार्थी एसईईको तयारीमा रहेका थिए ।
जनजीवन सामान्य भएपछि मात्रै एसइई हुने
कोरोना भाइरस संक्रमणको संक्रमण नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउन हटेर मुलुकभरको जनजीवन सामान्य नभएसम्म माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको गरेको छ । साथै एसईई परीक्षा हुने नयाँ कार्यतालिका प्रकाशन नगरिएको र परीक्षा हाल स्थगनकै अवस्थामा रहेको बोर्डले स्पष्ट पारेको छ ।
बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले लकडाउन जारी रहेको तथा संक्रमणको त्रास कायमै रहेको अवस्थामा एसईई परीक्षा कहिले गर्न सकिन्छ भन्ने कुरा यकिन नै गर्न नसकिएको बताउनुभयो । यस अवस्थामा कुनै पनि भ्रममा नपर्न, धैर्य गर्न विद्यार्थी तथा अभिभावकलाई बोर्डले आहन गरिएको छ । ‘विद्यार्थीमा कोरोना भाइरसको भय, त्रास रहेको अवस्थामा परीक्षा गर्न सकिने सम्भावना हुँदैन, मुलुकभरको अवस्था सामान्य नभएसम्म परीक्षा गर्न सम्भव देखिदैन’ परीक्षा नियन्त्रक खकुरेलले बताउनुभयो ।
लकडाउन खुलेर जनजीवन सामान्य हुने थालेपछि पनि परीक्षाका लागि विद्यार्थीलाई केही दिन समय दिइने जानकारी परीक्षा नियन्त्रक खकुरेलले दिनुभयो । मन्त्रिपरिषद्को सोमबारको बैठकले जारी लकडाउन आगामी बैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरिसकेको छ ।
एसईईमा अनिवार्य छ वटा विषयको प्रश्नपत्र प्रदेश पिच्छे अलग अलग गरिए पनि दुई वटा ऐच्छिक विषयको प्रश्नपत्र भने सबै प्रदेशबाट परीक्षा दिने विद्यार्थीको एउटै बनाइएको छ । यो अवस्थामा एसईईको परीक्षा गर्न देशभरकै जनजीवन सामान्य हुनुपर्ने र त्यसकै प्रतिक्षा भइरहेको बोर्डले जनाएको छ । लगायतको चरण बाँकी नै रहेकोले पूर्वनिर्धारित परीक्षा सार्नुपर्ने अवस्था रहेको र त्यसको औपचारिक निर्णय आजै गरिने बोर्डले जनाएको छ ।