राष्ट्रपतिद्वारा सङ्घीय संसद्को चालू अधिवेशन अन्त्य

  चैत २४, २०७६

काठमाडौं, चैत २४ : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुुवै सदनको चालू अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गर्नुभएको छ ।

नेपालको संविधानबमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालू पाँचौँ अधिवेशन अन्त्य गर्नुभएको सङ्घीय संसद् सचिवालयले सूचनापत्रमार्फत जानकारी दिएको छ ।

चालू अधिवेशन स्वत: अन्त्य भएकाले यही चैत २१ गते सूचना प्रकाशित गरी स्थगित गरिएको प्रतिनिधिसभा र यही चैत ७ गते स्थगित गरिएको राष्ट्रियसभाको बैठकसमेत अन्त्य भएको सङ्घीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीद्वारा आज जारी सूचनापत्रमा उल्लेख छ ।

गत पुस ४ गतेबाट शुरु भएको चालू अधिवेशनबाट वर्तमान सभामुखको चयन भएको थियो । यो अधिवेशनमा सङ्घीय सदनबाट शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान विधेयक र राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रणसम्बन्धी विधेयक पारित भएका थिए । कोरोनासम्बन्धी सार्वजनिक महत्वको विषयमा छलफल हुनाका साथै महिला हिंसासम्बन्धी सङ्कल्प प्रस्ताव पनि यो अधिवेशनबाट पारित गरियो ।

नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सङ्घीय निजामती सेवा विधेयकजस्ता महत्वपूर्ण विधेयक भने पारित हुन सकेनन् । निकै चर्चामा रहेको अमेरिकी सहयोगसम्बन्धी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले सदनमा छलफलका लागि प्रवेश पाएन ।

चालू अधिवेशनमा प्रतिनिधिसभाबाट आठ विधेयक पारित भए भने प्रतिनिधिसभाका विभिन्न समितिमा हाल १३ विधेयक विचाराधीन छन् । राष्ट्रियसभामा प्रतिनिधिसभाबाट पारित भएर गएका समेत १८ विधेयक विचाराधीन अवस्थामा छन् । यस अधिवेशनमा सन्धि सम्झौता अनुमोदनसम्बन्धी नौ प्रतिवेदन पेश भएका थिए ।

तपाईको प्रतिक्रिया