नेपालगञ्ज, चैत २० : नेपाल–भारत सिमानाको जमुनाह नाकाको दसगजा क्षेत्रमा तीन दिनदेखि अलपत्र परेका १ सय ८१ जना नेपालीको बिहीबार उद्धार गरेर नेपालकै क्वारेन्टाइनमा राखिएको छ ।
दशगजासँगै जोडिएको नेपालतर्फको निर्माणाधिन एकिकृत भन्सार चेकपोष्टको खाली जग्गामा नेपाली सेनाले ४५ वटा टेन्टसहितको अस्थायी क्वारेन्टाइन बनाएपछि सोही ठाउँमा ती नेपालीहरुलाई राखिएको हो ।
कोरोना संक्रमणलाई रोक्न नेपाल र भारतमा लक डाउन भएको र नाका समेत ठप्प भएको अवस्थामा सोमबार ती नेपालीहरु जमुनाहसम्म आएका थिए ।
भारतमा रहेका नेपालीलाई भारतले र नेपालमा रहेका भारतीयलाई नेपालले व्यवस्थापन गर्नुपर्ने सहमति बनेको भए पनि अलपत्र नेपालीहरुले भारतीय क्वारेन्टाइनमा नबस्ने अडान लिँदै दशगजामा धर्ना दिएका थिए ।
नेपालतर्फ पनि ल्याउन नमिल्ने र भारतमा पनि नबस्ने भएपछि अलपत्र नेपालीको व्यवस्थापन अनिश्चित बनेको थियो ।
उनीहरु खुल्ला आकाशमुनी दिन रात काटिरहेका थिए । स्थानीय प्रशासनमाथि यस्तो अवस्थामा रहेका नेपालीको उद्धार गर्नुपर्ने चौतर्फी दवाव थियो ।
दवावकै बीच बिहीबार विहान नेपाली सेनाको चार नम्बर बाहिनीले दुई घण्टामा ४५ टेन्टसहितको अस्थायी क्वारेन्टाइन निर्माण गरेको थियो । सोही टेन्टमा अलपत्र नेपालीहरुलाई राखिएको छ ।
सूविधा सम्पन्न टेन्टमा राखिएपछि उद्धार गरिएका नेपालीहरु खुःसी भएका छन् । उनीहरुले आफुहरुलाई घरमै पुगेझैं महसुस भएको प्रतिक्रिया दिएका छन् ।
क्वारेन्टाइनमा स्वास्थ्यकर्मीद्वारा उनीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । खाना व्यवस्थापन नेपालगञ्ज उपमहानगरपालिकाले गर्दै आएको छ । सरसफाई र शौचालयको व्यवस्थापन पनि भएको छ ।
सुरक्षाका लागि सो स्थानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ ।