जैसपुर, चैत २० : तीनतिर गहुँ बारी छ। दक्षिणमा दशगजा जोडिएको छ। बीचमा ठूला साना चारवटा मात्र आँपका रुख छन्। त्यहीँ हुलका हुल मान्छे रौं झैं गुजुल्टिए छन्। खुला आकासमुनी २४ घण्टा उनीहरुले दिन र रात काटेका छन् । अझैं कति दिनको घाम र रातको शीत खानुपर्ने हो, उनीहरु भन्न सकिरहेका छैनन् ।
आफूलाई बेवास्ता गरेकोमा सरकारप्रति आक्रोस मात्र पोखिरहेका छन् । कोही झोलालाई सिरानी बनाएर सुतेका छन् । कोही गफिँदै । भागेर भए पनि अब घर फर्कन पाउने आशा उनीहरुमा कतै देखिँदैन । किन कि दशगजाको पारीपट्टी भारतीय सीमा सुरक्षा बलका दुई जवान र वारी नेपालमा सशस्त्र प्रहरीका दुई जवान हतियारसहित उनीहरुको गस्तीमा छन् ।
बुधबार दिउँसो नेपाल–भारत सीमामा पर्ने बाँकेको नेपालगन्ज उपमहानगरपालिका १६ जैसपुरस्थित सीमा क्षेत्रमा भारतबाट आएर अलपत्र परेका नेपालीबारे स्थलगत समाचार संकलन गर्न जाँदा देखिएको दृश्य हो, यो। सीमा नाका जमुनाहादेखि एक किलोेमिटर पश्चिममा नेपालगन्जमा निर्माणाधीन नेपाल भारत एकीकृत भन्सार जाँच चौकी (आइसीपी) को छेउमै खुला आकासमुनी उनीहरुलाई राखिएको छ ।
तीन दिन भारतीय क्षेत्रमा अलपत्र परेका नेपालीलाई सोमबार राति भारतीय सुरक्षाकर्मीले गाडीमा राखेर नेपालको सीमा कटाउन लागेका बेला नेपाली सुरक्षाकर्मीले नियन्त्रणमा लिएर दशगजा छेउमा राखेका हुन्। यीमध्ये सीमामा पाँच दिन अघि नै पुगेका एक सयभन्दा बढी छन् ।
जुम्ला जिल्लाको सिँजा गाउँपालिका ५ का दीपक कामी भन्छन्, ‘पाँच दिन भयो, सीमामा आएको। तीन दिन त रुपैडियाको रेल्वे स्टेशनमा बस्यौं। दुई दिनदेखि नेपाली भूमिमै खुला आकासमुनी बसेका छौं ।’
उनीसहित सिँजाका मात्र ११ जना छन्। ‘सुरुकै दिन नेपाली सुरक्षाकर्मीले छलफल हुन्छ। तपाईहरु जान पाउनुहुन्छ भनेका थिए’, भारतको कानपुरबाट आएका जनक शाहीले गुनासो गरे, ‘रातभर मच्छरले खान्छ। सुत्न दिँदैनन्। आफ्नैै देशमा हामीमाथि मानवीय व्यवहार भएन ।’ मुगुका नन्दनाथ योगी भन्छन्, ‘कोरोनाबाट जोगिएला भनेर जोखिम मोलेर आएको भोक, शोक र सुर्ताले मरिन्छ कि भन्ने चिन्ता लाग्न थालेको छ ।’
बर्दियाको ठाकुरबाबा नगरपालिका १ डुम्रेनी गाउँका झलक थापा जमुनाहादेखि पश्चिमबाट सहायक नाकाबाट नेपालगन्ज प्रवेश गर्दा गर्दा सोमबार राति सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर खुला ठाउँमा राखेको बताउँछन्। उनी ठाकुरबाबा नगरपालिकासँग आग्रह गर्छन्, ‘हामीलाई लगेर जुनसुकै ठाउँको क्वारेन्टाइनमा राख। यो खुला आकासमाथि हामी झन असुरक्षित छौं। सबैले स्वास्थ्य जाँच गरेका छैनन्। संक्रमित भए रोग सर्ने खतरा उत्तिकै छ ।’
दैलेखको चामुन्डा विन्द्रासैैनीका खम्ब विष्ट आफ्नो समस्याको कोही पनि गम्भीर नभएको चिन्ता गरे। उनको माग छ, ‘हामीलाई खुला आकासमुनी राख्नुभन्दा कुनै सरकारी कार्यालय, विद्यालय छन् भने त्यहाँ राख्दा हुन्छ। ओत लाग्ने ठाउँ त हुन्छ ?’ भारतको मुम्बइबाट आएको उनको टोलीमा १९ जना छन् ।
नेपालगन्जको जैसपुरमा एक सय ६३ जना रहेका थिए। तीमध्ये तीन जना महिला र पाँच जना बालबालिकालाई भने महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का सीमामा जो जस्तो अवस्थामा छन्, उनीहरुलाई त्यस्तै १४ दिन राखेर मात्र नेपाल प्रवेश गर्न दिनुपर्ने गृह मन्त्रालयको आदेश रहेको बताउँछन्। उनले भने, ‘हामी त्यही ठाउँमा क्वारेन्टाइन बनाउँछौं। उनीहरु त्यहीँ बस्नुपर्छ ।’
स्थानीयले पसल हटाए
अलपत्र नेपालीलाई लक्षित गरेर जैसपुरका मोेहम्मद इरफानले बाटोमा किराना पसल सन्चालन गरेका थिए । पानी, चाउचाउ, बिस्कुट, पानी, दालमोट, चकलेटजस्ता सामान थिए। उनीहरुलाई पनि सहज भएको थियो। दुई दिनमा पाँच हजार रुपैयाँको बिक्री भएको उनले बताएको अन्नापूर्णा पोष्टमा उल्लेख छ ।
कोरोना भाइरस सार्ने खतरा भएको भन्दै जैसपुरका स्थानीयले पसल बन्द गर्न लगाएका छन्। ‘मलाई पनि दुई पैसा हुने, सेवा पनि हुने भनेर पसल खोलेको थिए‘ उनले निन्याउरो मुख लगाउँदै भने, ‘कोरोना रोग ल्याइस भने गाउँ निकाला गरिदिन्छौं भनेर गाउँका दश-पन्ध्र जनाले मलाई धम्काए। अब पसल बन्द गर्नैपर्यो ।’