काठमाडौं, चैत १९ : नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले संकटको समयमा अमेरिकी पर्यटकको उद्धारमा सहयोग गरेको भन्दै नेपालको प्रशंसा गरेका छन् । मंगलबार तीन सय दुई जना अमेरिकी नागरिकलाई घर फर्काएपछि उनले एक भिडियो सन्देश जारी गर्दै नेपाली जनताले आतिथ्य सत्कारको असाधारण दृष्टान्त प्रदर्शन गरेको भन्दै धन्यवाद दिएका हुन् ।
राजदूत बेरीले पर्यटक अलपत्र पर्दा नि:शुल्क खानाको व्यवस्थापन गर्ने व्यवसायी, पर्यटक सकुशल काठमाडौं नफर्काएसम्म साथ नछाडेका सहयोगी गाइडलाई धन्यवाद दिएका छन् । नेपालसँगको ७० वर्षको साझेदारीको यसअघिको दृष्टान्तझैं यस पटक पनि आफूहरु सहकार्यमार्फत् सफल भएको राजदूत बेरीले बताए । ‘र, फेरि पनि के कुरा प्रदर्शन गरेका छौं भने जहाँ जहिले खाँचो पर्छ त्यसबेला नेपाल र अमेरिका साँच्चै नजिकमा छन्,’ उनले भनेका छन् ।
उनले कठिन समयमा पनि अमेरिकी नागरिकलाई आफ्नो परिवार र प्रियजनसँगै रहने वातावरण मिलाइदिएकोमा सबै सरोकारवालालाई धन्यवाद गरेको अमेरिकी राजदूतले जारी गरेको भिडियो सन्देशलाइ उद्धृत गर्दै अनलाइन खबरले जनाएको छ । सयौं अमेरिकी घर फर्कदै गर्दा कतियले नेपाल भ्रमणका लागि फर्केर आउने योजना बनाइसकेको समेत राजदूतले जानकारी गराएका छन् ।