काठमाडौँ, चैत १७ : उपभोक्ता हित संरक्षण मञ्च नेपालले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न लकडाउन भएको अवस्थामा उपभोक्ताले दैनिक उपभोग्य अत्यावश्यक वस्तुको सहज र सुलभ बजार व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेको छ ।
सरकारले लकडाउन गरेकोप्रति स्वागत गर्दै मञ्चले महामारीको जोखिमबाट नागरिकको जीवन बचाउन र लकडाउनको यस अवस्थामा उपभोक्ताको हित संरक्षण गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी संवदेनशीलताका साथ वहन गर्न सरकारसहित सरोकारवालपक्षसँग आग्रह गरेको हो ।
मञ्चले पर्याप्त भण्डारणको जोहो नगर्ने असल उपभोक्तालाई अत्यावश्यक वस्तुहरूमा समेत कृत्रिम अभाव, कृत्रिम मूल्यवृद्धि र कालोबजारी रोक्न माग गरेको हो । मञ्चका पूर्वअध्यक्ष तथा अधिवक्ता ज्योति बानियाले रासससँग कुरा गर्दै भन्नुभयो, “कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लकडाउन गर्न उचित छ, तर अतिआवश्यक वस्तुको कृत्रिम अभाव देखाएर कालोबजारी गर्ने खेल रोकिनुपर्छ ।”
मञ्चले विषम परिस्थितिमा स्थानीय बजार व्यवस्थापन गर्ने संवैधानिक जिम्मेवारी स्थानीय तहमा रहेकाले स्थानीय तहका जनप्रतिनिधिले क्रियाशीलता देखाई बजार व्यवस्थापनका लागि सरोकारवालाको प्रभावकारी समन्वय गर्नुपर्ने माग छ । साथै हरेक वडा तहमा सङ्क्रमणमुक्त आवश्यक सङ्ख्यामा पसलहरू तथा घुम्ती पसलहरू सञ्चालन गर्ने कार्यभार पूरा गरी उपभोक्तालाई दैनिक अत्यावश्यक वस्तु र सेवाको सुनिश्चितता गर्नुपर्ने मञ्चको माग छ ।
मञ्चले स्थानीय तहहरूलाई आवश्यक स्रोत साधन प्रदान गरी समन्वयका साथ नेपाल सरकार र हरेक प्रदेश सरकारहरू जिम्मेवार बन्न सरकारसँग अपिल गरेको छ ।