जापानी कमेडियन केन शिमुराको कोरोना संक्रमणबाट मृत्यु

  चैत १७, २०७६

टोकियो, चैत १७ : जापानी कमेडियन केन शिमुराको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ७० वर्षीय शिमुरालाई कोरोना भाइरसको संक्रमणपछि निमोनिया भएको र त्यसैका कारण आइतबार मृत्यु भएको जापानी समाचार संस्था क्योदोले जनाएको छ ।

अस्वस्थ महसुस भएपछि उनी मार्च २० मा अस्पताल भर्ना भएका थिए। मार्च २३ मा उनको स्वास्थ्य परीक्षण गर्दा निमोनियाले ग्रस्त र कोरोना भाइरस पोजिटिभ देखिएको थियो।

शिमुरालाई ‘जापानका रोबिन विलियम्स’ का नामले पनि चिनाइने गरिन्‍थ्यो। सन् १९७० को दशकबाट आफ्नो कलाकारिता सुरु गरेका शिमुरा जापानका सबैभन्दा बढी चर्चित कमेडियनमध्येका एक हुन।

शिमुराले विभिन्न टेलिभिजन शोहरुमा ‘बाका तोनोसामा’(मुर्ख भगवान्), ‘हेन्ना ओजिसान’(अचम्मका काका)लगायतका निकै मन पराइएका चरित्र निभाएका थिए। शिमुराले अमेरिकी कमेडियन जेरी लेविसबाट प्रेरणा पाएको पनि आफ्नो संस्मरणमा उल्लेख गरेका छन्।

जापानमा सोमबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ५४ जनाको मृत्यु भएको छ भने एक हजार ८ सय ६६ जना संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया