क्यालिफोर्निया, चैत १७ : अमेरिकाका विभिन्न अस्पतालमा नेपालीहरू व्यवसायिक नर्सको रूपमा काम गर्दै आएका छन् । अमेरिकामा नर्सको जागिरलाई निकै आकर्षक र सम्मानित मानिन्छ । तर कोरोना (कोभिड-१९) भाइरसका कारण यतिबेला यही जागिर निकै जोखिमयुक्त छ ।
कोभिड- १९ को महामारीका बेला उनीहरू अग्रपंक्तिमा रहेर बिरामीको उपचारमा खटिएका छन्। यस्तो जोखिम परिस्थितिमा उनीहरूको कामको सबैले प्रशंसा गरेका छन्। धेरै सहरमा उनीहरूको कामको प्रशंसा गर्दै सर्वसाधारणले ताली बजाएर सम्मान व्यक्त गरेका छन्। यसै प्रसंगमा अमेरिकाको क्यालिर्फोनिया र सियाटलको अस्पतालमा काम गर्ने रजिष्ट्रड नर्सहरूले आफ्ना अनुभव कान्तिपुरकर्मी प्रतिमा बाँस्कोटासँग साटेका छन्।
डर त छँदैछ, तर रोग लाग्दैमा मरिँदैन : ईश्वरी बस्नेत
म २७ वर्षदेखि नर्सिङ पेशामा आबद्ध छु। अहिले स्याक्रोमेन्टो सहरको एक हेल्थ केयरमा ६ वर्षदेखि रजिष्टर्ड नर्सको रूपमा काम गर्दैछु। मेरो प्रमुख जिम्मेवारी इमर्जेन्सीमा आएका बिरामीहरूको ख्याल राख्नु हो। कोभिड—१९का बिरामीहरू हाम्रो अस्पतालमा पनि आउँछन्, आइरहेका छन्। इमर्जेन्सीमा काम गर्दा त्यसका बिरामीहरूको प्रत्यक्ष सम्पर्कमा पुग्न सकिने सम्भावना हुन्छ ।
हाम्रो अस्पतालमा कोरोनाका बिरामी र अन्य बिरामीका लागि अलग अलग नाम दिएर उपचार गर्ने व्यवस्था गरिएको छ। ती नाम हुन ‘हट’ र ‘कोल्ड’। ‘हट’ विभागमा कोरोना संक्रमित बिरामी जान्छन्। अमेरिकामा अस्पतालको इमर्जेन्सीमा जानु न्दा अघि अस्पताल किन आउन लागिएको हो फोन गरेर मात्र जाने व्यवस्था गरिएको छ। लक्षणहरू कोरोनाको भए ‘हट’ विभागमा पठाइन्छ। लक्षण पुष्टि भए पनि संक्रमितको अवस्था गम्भीर देखिएन भने उनीहरूलाई घर नै पठाइन्छ। गम्भीर देखिए भेन्टिलेटरमा राखेर उपचार सुरु हुन्छ। आईसीयूमा राखिएका बिरामीसँग काम गर्ने डाक्टर र नर्सले भने पर्सनल प्रोटेक्सन इक्युप्मेन्ट(पीपीई) किट लगाएर काम गर्ने हो।
सुरुवाती परीक्षणमा रोग लागेको नदेखिए पनि दोस्रो हप्तापछि पुनः त्यही बिरामी फर्किएर अस्पताल आएको अवस्था छ। त्यस्तो बेलामा म जस्ता नर्सहरूलाई पनि संक्रमण हुन सक्ने सम्भावना हुन्छ। अस्पतालमा काम गर्ने म जस्ता सबै नर्स वा डाक्टरहरूमा संक्रमणको भय त हुन्छ। अस्पतालमा आफ्नै सहकर्मीबीच दूरी कायम राखेर हामी काम गर्छौं। सबैको अनुहार मलिन हुन्छ।
मनमा डर त लागि नै रहन्छ तर पनि आफ्नो काम हो गर्नु त परिहाल्यो। तर पनि मलाई के थाहा छ भने कोरोना लाग्नेबित्तिकै मरिने होइन। उच्च मनोबल र सर्तकताले संक्रमणपछि पनि निको हुन मद्दत गर्छ। त्यसैले म अमेरिका र नेपालमा बस्नु भएका सबै नेपालीलाई यो संकटको अवस्थामा दूरी कायम गरेर बस्न र आफ्नो मनोबल उच्च बनाउन अनुरोध गर्छु। ‘सेल्फ आइसोलेसन’ भनेको जहाँ छ त्यहीँ बस भनेको हो। ससुराली वा मामाघर जाउ भनेको होइन। यो संक्रमण आगोको झिल्कोझैं सल्किरहेको छ। त्यस्तो अवस्थामा जतिसक्दो दूरी कामय गरेर बस्नु आवश्यक छ।
महत्वपूर्ण कुरा के हो भने रोग लाग्छ वा लाग्यो भनेरे त्रासले भाग्ने ठाउँ त कहीं हुँदैन। सावधानी अपनाएर काममा खटिने हो। आवश्यक परेको बेला काममा खटिएन भने अरु बेलाको यसको महत्त्व नै रहन्न। बिरामीलाई छिटो निको बनाउन मद्दत गर्नु मेरो पहिलो जिम्मेवारी हो। म यो जिम्मेवारीबाट कत्ति पनि पछि हट्दिनँ।
म जस्तै अरुको पनि परिवार छ। उनीहरू पनि काम सकेपछि घर नै जान्छन्। दिनभरी काम सकेर घर पुगेपछि अस्पतालमा लगाएका लुगा जुत्ता गाडी ग्यारेजमा खोलेर ‘वासिङ मेसिन’ मा हालिदिन्छु। अनि घरभित्र गएर सरासर नुहाएपछि मात्र घरका सामानहरू छुने चलाउने गर्छु।
दुई हप्तासम्म घरमै पनि मास्क लगाएँ : रोजी कार्की
अमेरिकाकै सियाटल राज्यको एउटा अस्पतालमा ५ वर्षदेखि रजिष्टर नर्सको रूपमा काम गर्दै आएकी छु। मैले काम गर्ने अस्पतालको नाम बताउन मिल्दैन। मैले काम गर्ने विभाग सर्जिकल भए पनि केही साताअघि कोरोनाको बिरामीको प्रत्यक्ष सम्पर्कमा म आउनु पर्यो। त्यो बेला कोरोनाको संक्रमण भर्खरै मात्र देखिन थालेको थियो।
अस्पतालमा एक महिला आफ्नो श्रीमानको मुटुको अप्रेसनका लागि आएकी थिइन्। ती महिलासँग बिरामीका बारेमा जानकारी लिएँ। त्यसको एक हप्तापछि ती महिला कोरोनाबाट संक्रमित भएको रिपोर्ट आएछ। म घरमा नै भएको बेला अस्पतालबाट फोन आयो। मेरो सम्पर्कमा हप्ता दिन अघि सम्पर्कमा आएकी ती महिला कोरोना संक्रमित भएर अस्पताल भर्ना भइछन्। डरले मन काम्यो। त्यो बेला नै मेरो श्रीमानलाई रुघाखोकी र घाँटी दुख्ने भइरहेको थियो। अस्पतालबाट कोरोना घरमा ल्याएँ कि भन्ने डर भयो।
अस्पताल व्यवस्थापनले मलाई मास्क लगाएर मात्र अस्पताल भित्र पस्न भन्यो। मैले घरमा पनि २ हप्तासम्म मास्क नै लगाएर बसें। श्रीमान् र १० वर्षीय छोरालाई नछोई अलग्गै बसें। तीन जनाको परिवार हामी अलग अलग कोठामा सुत्यौं। छोरो सुरुमा अलग सुत्न मानेको थिएन, सम्झाएर सुतायौं। घरभित्रै पनि हामी दूरी कायम गरेर बस्यौं। छोरो म कामबाट फर्केर आउँदा अंगालो मार्न आइपुग्थ्यो। छोरो नगर भने पछि अनुहार अध्याँरो बनाउथ्यो। अब त ऊ बुझ्ने भइसक्यो। म कामबाट घर आइपुगेर परैबाट हेलो, हाई भन्दा पनि पहिला नुहाएर आउनु भन्छ, थप जवाफ दिँदैन।
प्राय: जसो मानिसहरू घरमा बसेर काम गर्दा वा संक्रमणका कारण घरमा बसेका बेला आफूले अरुलाई मद्दत गर्न पाउँदा एकदमै गर्व लाग्छ। सुरक्षित भएर काम गर्ने हो भन्ने थाहा छ। दिनभरी काम गरिञ्जेल घर परिवारको खासै वास्ता हुँदैन। तर काम सकेर घर आउँदा चाहीँ मलाई संक्रमण भयो कि, घरमा श्रीमान् वा बच्चालाई सर्ला कि भनेर मनमा चिसो पस्छ। घरभित्र पस्नासाथ पहिला नुहाएर मात्र भान्सातिर जान्छु ।
संक्रमणको आशंका भएका बिरामीसँग काम गर्नु पर्दा पीपीई लगाएर काम गर्ने हो। पीपीई लगाएपछि प्रत्यक्ष संक्रमणको आंशका हुँदैन। आशंकै नगरिएको व्यक्तिमा पनि परीक्षणपछि संक्रमण देखियो र काम गर्दा संक्रमण भइहाल्यो भने पनि यसबाट तुरुन्तै मरिँदैन। सकरात्मक सोचाइ र स्वस्थ्य खानपानले इम्युनिटी पावर’ बढाउँछ। म यो संक्रमणलाई प्रतिरोध गरेर निको हुन सक्छु। यसका लागि मैले मेरो नियमित खानपानमा पनि परिवर्नत गरेकी छु। स्वथ्य खानेकुरा, दालभात, साग सब्जी र फलफूल धेरै खाने गरेकी छु।