प्राविधिक गडबडीले विमान दुर्घटना

  चैत १५, २०७६

नेपालगञ्ज, चैत १५ : नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका चिकित्सक डा. प्रवेश पन्तले काठमाडौंबाट आउने क्रममा विमानमा प्राविधिक गडबडी भएको आशंका गर्दै त्यसपछि विमान धेरै तलमाथि हल्लिंदै विमानस्थलमा पुगेर चालकले धावनमार्गको सट्टा घाँसमा अवतरण गराएको दाबी गर्नुभएको छ ।

काठमाडौंबाट चिकित्सक र औषधी लिएर आएको नेपाल एअरलाइन्सको ट्विनिटर विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्ग भन्दा बाहिर घाँसमा घिस्रिएर दुर्घटना भएको हो ।

उक्त विमानमा रहनुभएका डा. पन्तले दाङ जिल्ला नजिक पुगेदेखिनै उडिरहेकै बेला विमानमा प्राविधिक समस्या भएको दाबी गर्दै सम्भवतः एउटा इन्जिन फेल भएकाले घाँसमा अवतरण गराईएका हुनसक्ने उहाँले बताउनुभयो ।

घटनाबारे नेपाल नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले दुर्घटनाको प्रकृति हेर्दाखेरी विमान डाउन थियो, जहाज रन–वेमा टच नहुँदै बाहिर गएको जस्तो देखिन्छ, जहाज जुन एप्रोचमा हुनुपर्ने हो, त्यो नभएर धेरै तल थियो, कसरी दुर्घटना भयो त्यसमा अनुसन्धान होला, भन्नुभयो ।

उहाँले कोरोनाका कारण निजी विमानहरु बन्द गरिएकोले औषधी र चिकित्सक लिएर कोरोना परिक्षणको स्वाब लिनका लागि नेपाल एअरलाइन्सको विमान नेपालगञ्ज आएको बताउनुभयो ।

नेपाल एअरलाइन्सको नाईन एन एकेयु ट्वीनिटर विमान शनिबार विहान ११ बजेर ३५ मिनेटमा विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गमा नछुदै दुर्घटना भइ घाँसे मैदानमा घस्रिन पुगेको थियो ।

नेपालगञ्जमा रहेका आशंकित कोरोना संक्रमणका विरामीको स्वाब नमुना लिन काठमाण्डौबाट चिकित्सक र औषधी लिएर आएको सो विमान अवतरण गर्ने बेला धावनमार्ग भन्दा बाहिर उछिट्टीएर करिब ८० मिटर टाढा घिस्रिएर गै घाँसमा अड्किएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीरबहादुर ओलीका अनुसार विमान धावनमार्ग भन्दा बाहिर गएको भए पनि विमानमा रहेका दुईजना चिकित्सकसहित पाँचजनाको सकुशल उद्धार गरिएको छ ।

विमानमा आगो नलागेकाले ठूलो दुर्घटनाबाट जोगिएको एसपी ओलीले बताउनुहुन्छ । दुर्घटना लगत्तै ठूलो संख्यामा विमानस्थलमा पुगेका सुरक्षाकर्मीहरुले जहाजमा रहेका चालक दल र चिकित्सकको उद्धार गरेको प्रहरीले जनाएको छ ।

सो विमानमा डा. पन्त सहित भेरी अस्पतालका चिकित्सक डा. सन्देश देवकोटा पनि रहनु भएको थियो । विमानमा कोरोना परिक्षणको स्वाब संकलन गर्ने छ कार्टुन किटहरु पनि रहेको थियो ।

तपाईको प्रतिक्रिया