चाँदनी हमाल
काठमाडौँ, चैत १५
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न यतिबेला नेपालमा साताव्यापी एकान्त बास चलिरहेको छ । शङ्कास्पद बिरामी भने छुट्टै क्वारेन्टाइनमा चिकित्सकको निगरानीमा छन् । आम मानिसले अपनाइरहेको एकान्त बास पनि एक प्रकार पूर्वक्वारेन्टाइन नै हो ।
चिकित्सक अरुण सेढाइँ एकान्त बास रहँदा होस् वा चिकित्सकको निगरानी सहितको घरमा बस्दा होस् सकेसम्म आफूलाई सक्रिय राख्नुहोस्, भित्रै गर्न सकिने काम र खेल खेल्नुहोस् भन्ने सुझाव दिनुहुन्छ ।
करेसाबारीमा काम गर्ने, बालबालिकासँग खेल्ने, योग र शारीरिक अभ्यास गर्ने, पुस्तक पढ्ने गर्न सकिन्छ । कसैले नभोगेको कुरा भोग्नुपरेको छ, त्यसैका बारेमा गीत, कविता लेख्ने, आफ्ना अनुभव लेख्ने गर्न सकिन्छ भन्ने सुझाव उहाँ थप्नुहुन्छ । दीर्घरोगीले खाने औषधि नछुटाई निरन्तर लिनुपर्छ ।
सरकारी मापदण्डमा के छ ?
नेपाल सरकारले तयार पारेको मापदण्डको अनुशरण गर्न लाभद(ायी हुन्छ । ‘कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड –२०७६’ मा कसरी बस्ने, व्यवहार गर्ने, खानपान र सुरक्षात्मक उपाय अपनाउने प्रस्ट उल्लेख छ । त्यस्तै त्यहाँ रहने व्यक्ति, खटनपटनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले गर्न हुने र नहुने दुवै थरिका कामको व्याख्या यस मापदण्डले गरेको छ ।
स्वस्थ र आफैँ घरमा रहेका बाहेक सङ्क्रमणको शङ्का गरिएका व्यक्तिले १४ देखि १७ दिनसम्म अनिवार्य क्वारेन्टाइनको कडा निगरानीमा रहनुपर्ने बाध्यकारी व्यवस्था छ ।
चिकित्सकबाट गरिने निगरानीको क्वारेन्टाइन सम्भव भएसम्म मानव बस्तीबाट टाढा बनाउनुपर्छ । खानेपानी, बिजुली, सडक, सञ्चारको सुविधा हुनुपर्छ । बालबालिका, ज्येष्ठ नागरिक, गर्भवतीका लागि छुट्टै व्यवस्था हुनुपर्छ । हावा वारपार हुने क्वारेन्टाइनको कोठामा प्रतिव्यक्ति ७५ वर्गफिट र एक व्यक्तिको पलङदेखि अर्कोको दूरी ३.५ फिट हुनैपर्छ ।
कोठामा सरसफाइका अत्यावश्यक सामग्री राख्नुपर्छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, विद्युतीय निगरानी (सीसीटीभी) को अनिवार्य व्यवस्था हुनुपर्छ । प्राप्त सुविधा आपसी समझदारीका आधारमा उपयोग गर्ने, उपलब्ध सामग्रीको हिफाजत गर्दै समुचित प्रयोग गर्ने बानी बसाल्नुपर्छ ।
त्यस्तै अनुसार स्वास्थ्य सम्बन्धी गर्न नहुने कार्यमा खोक्दा, हाच्छ्युँ गर्दा अनिवार्य नाक, मुख छोप्ने, रुघाकोखीको लक्षण देखिए तत्काल चिकित्सकको परामर्श लिने, विदेशबाट फर्किएका परिजनलाई जङ्गली वा घरपालुवा जनावर र पशुपक्षीबाट टाढा राख्ने, पशुजन्य पदार्थ मासु, अण्डा, दूध आदि राम्ररी पकाएर खाने गर्नुपर्छ ।
सुरक्षा सम्बन्धी कार्यमा सङ्क्रमित व्यक्तिलाई यथाशीघ्र अस्पतालको आइसोलेसनमा पठाउने, सुरक्षाका बस्नेले अनिवार्य व्यक्तिगत सुरक्षाका सामग्री लगाउने, हुलदङ्गा र जमघट हुन नदिने, क्वारेन्टाइनबाट व्यक्ति भाग्न नदिने, भाग्न लागेमा नियन्त्रणमा लिने गर्नुपर्छ ।
गर्न नहुने काम
एकान्त बास र क्वारेन्टाइनमा बस्दा गर्न नहुने कामका बारेमा पनि मापदण्डमा उल्लेख छ । त्यस्तै आपसमा सम्मानजनक व्यवहार गर्ने, सुर्तीजन्य नशालु पदार्थको सेवन नगर्ने, अशिष्ट र अभद्र व्यवहार नगर्ने, नकारात्मक टीकाटिप्पणीभन्दा सकारात्मक सिर्जनामा जोड दिने गर्नुपर्नेछ ।
कस्तो खाना खाने ?
यति बेलाको अवस्था होम क्वारेन्टाइनको हो । बाहिरको गतिविधि कम भएकाले अत्यावश्यक सामग्रीको बजारमा पनि कमी हुन सक्छ । त्यसैले संयमता अपनाएर आफू र परिवारको भरणपोषणमा ध्यान दिनुपर्छ । घरमा बसेको छु भन्दैमा दिनभरि नै खाने वा धेरै खाएको छु भनेर खाँदै नखाने कार्य नगर्न सुझाव गरिएको छ । शरीरलाई चाहिने आवश्यक शक्ति र रोग प्रतिरोधात्मक क्षमता बढाउने खाना जरुरी हुन्छ ।
सागपात, गेडागुडी र घरमै उपलब्ध खानेकुराबाटै पोषण जुटाउनुपर्छ । उमालेको पानी अनिवार्य पिउने, घरेलु आयुर्वेदिक मरमसलाको उपयोग गर्न सकिन्छ । बिहान उठ्नासाथ मनतातो दुई गिलास पानी पिउनु राम्रो हुने चिकित्सक सुझाउँछन् ।