हेटौँडा, चैत १२ : दुबईबाट फर्केका एक युवकलाई मनहरी प्राथमिक स्वास्थ्य केन्द्रले चितवनस्थित भरतपुर कोरोना अस्थायी अस्पताल पठाएको छ ।
मनहरी गाउँपालिका ८ सिमपानीका २५ वर्षे युवक दुबईबाट चैत ७ गते घर आइपुग्नु भएको थियो । उहाँको मंगलबार विहान भएको स्वास्थ्य जाँचका क्रममा १ सय डिग्री फरेनहाइटभन्दा बढी मात्रामा ज्वरो देखिएको र विदेशबाट आएकाले थप उपचारका लागि भरतपुर कोरोना अस्थायी अस्पताल पठाइएको स्वास्थ्य केन्द्रका डा. शरद दाहालले बताउनुभयो ।
विदेशबाट फर्केका र शरीरको तापक्रम पनि बढी देखिएकाले शंका लागेर रिफर गरिएपनि कोरोना नै हो भन्ने यकिन नभएकाले नआँत्तिन मनहरी गाउँपालिका स्वास्थ्य संयोजक टीकाराम अधिकारीले आग्रह गर्नुभएको छ ।
‘विदेशबाट आएकै कारण हामीहरुको ध्यान अलि बढी खिचिएको हो’, संयोजक अधिकारीले भन्नुभयो–‘बुधबार साँझसम्म रिपोर्ट आइहाल्छ, आँत्तिएर आतंकित बन्नुहुँदैन ।’